
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गलत नियत बोकेर पार्टीभित्र प्रवेश गर्न खोज्नेलाई रोक्नका लागि वडादेखि केन्द्रसम्म (रास्वपा) ले आवश्यक विधि र विधान बनाउने बताएका छन् ।
रास्वपाको बागमती प्रदेश समितिद्वारा शनिबार आयोजित टोखा नगरपालिका-१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिक वृक्षारोपण कार्यक्रममा सभापति लामिछानेले यस्तो बताएका हुन ।
यसैबीच लामिछानेले आगामी निर्वाचनलाई लक्षित गरेर संगठन बिस्तारमा जुट्न नेता तथा कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।
‘आगामी निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्नेछ,’ उनले भने, ‘वडादेखि केन्द्रसम्म उपयुक्त व्यक्तिलाई उम्मेदवारका रुपमा तयार गर्ने योजना हाम्रो रहेको छ ।’
लामिछानेले आगामी निर्वाचनमा वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान पनि गरेका छन् ।
रास्वपाले पार्टी स्थापनाको एक वर्ष पुगेका अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्न लागिरहेको छ ।