News Portal

घट्यो पासपोर्टको मूल्‍य, ५ हजारमै ६६ पेजको पाइने

फरकपोस्ट संवाददाताअसार ३ काठमाडौं
४७१ पटक
असार ३ काठमाडौं

राहदानी विभागले सेवाग्राहीलाई असार ३ गतेबाट लागू हुने गरी ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयहरुले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी आगामी आइतबारबाट ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो ।

परराष्ट्रमन्त्री एनपी साउदले गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानीबराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।
‘जनतालाई असुविधा नहोस् र सुपथ मूल्यमा फ्रिक्वेन्ट फ्लायरले लिँदै आएको पासपोर्ट सर्वसाधारणलाई उपलब्ध गराउन निर्णय गरेका हौँ,’ उनले भने ।

यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट फ्रिक्वेन्ट फ्लायर (समय–समयमा विदेश गइरहने)लाई ६६ पृष्ठको राहदानी १० हजार रुपैयाँमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको थियो ।

यस्तै सामान्यतया विदेश जाने सेवाग्राहीलाई विभागले ३४ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा दिँदै आएको थियो ।

विभागले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालयहरु र विदेशस्थित सबै नेपाली नियोगहरुलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराएको विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिइन् ।

परिपत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संशोधन गरिएको र असार ३ गतेबाट संशोधित दस्तुर लागु गर्न निर्देशन दिइएको छ ।

राहदानी दस्तुरसम्बन्धी व्यवस्था पूर्ववत् रहेको निर्देशक सापकोटाले बताइन् ।

प्रतिकृया दिनुहोस्