News Portal

कमेडी क्लब विथ च्याम्पियन्समा प्रसारित सामग्रीप्रति गन्धर्व सांस्कृतिक कला संगठनको आपत्ति

फरकपोस्ट संवाददाताअसार १४ काठमाडौं
१२४ पटक
असार १४ काठमाडौं

नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा गन्धर्व समुदायमाथि सिर्जना गरिएको पात्रप्रति गन्धर्व सांस्कृतिक कला संगठनले आपत्ति जनाएको छ । संगठनले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रममा सिर्जना गरिएको पात्रले सिंगो गन्धर्व समुदायको आत्मसम्मानमा चोट पुर्‍याएको जनाएको छ ।

‘गन्धर्व पात्रको भूमिका निभाउने कलाकारले गन्धर्व समुदायको मौलिकता, कला, संस्कृति, पेशा र सारंगीको प्रयोग र भाषा अमर्यादित ढंगले प्रस्तुत गरिएको हुँदा उक्त दृश्यमाथि हाम्रो आपत्ति छ,’ संगठनका महासचिव अनिल गन्धर्वद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः उक्त कार्यक्रममा प्रस्तुत गरिने गन्धर्व पात्र र सारंगी प्रयोगको प्रसारणलाई तत्काल रोकी सम्पूर्ण शृंखलाबाट सो पात्रको भिडियो हटाई सार्वजनिक रुपमा माफी माग्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं । त्यसो नगरिएको खण्डमा कानुनी सहायता लिई अघि बढिने कुराको समेत जानकारी गराउँछौं ।’

संगठनका महासचिव गन्धर्वले उक्त शोका धेरैवटा एपिसवठमा गन्धर्व समुदायको आत्मसम्मानमा चोट पुर्‍याउने खालका प्रस्तुति आइरहेको र सचेत गराउँदा पनि अटेर गरेकाले बाध्य भएर सार्वजनिक रुपमा विरोध जनाउनुपरेको बताए ।

पछिल्लोपटक कमेडी क्लब विथ च्याम्पियन्सको ६७ ‌औं भागमा कलाकार पवन भट्टराईले सारंगीवादक पात्रको रुपमा प्रस्तुति दिएका थिए । उक्त कार्यक्रमका प्रस्तोता तथा निर्देशक विशाल भण्डारी हुन् । कार्यक्रम नेपाल टेलिभिजनका साथै ओएसआर डिजिटल युट्युब च्यानलबाट प्रसारण हुँदै आएको छ । अनलाइन खबर

प्रतिकृया दिनुहोस्