News Portal

छोरी बलात्कारको कसुरमा बाबुलाई तेत्तीस वर्ष कैद

फरकपोस्ट संवाददाताअसार २६ दैलेख
४२२ पटक
असार २६ दैलेख

दैलेख जिल्ला अदालतले १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बाबुलाई ३३ वर्ष कैद सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए ।

गत चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । उजुरीका आधारमा ती व्यक्तिलाई गिरफ्तार गरिएको थियो । बलात्कार गरेको पुष्टि भएपछि हाडनातामा २५ वर्ष र पीडितको उमेरअनुसार हुने बलात्कार सजाय ८ वर्षसमेत थपेर कसुरदारलाई ३३ वर्ष कैद गरिएको अदालतको फैसलामा उल्लेख छ ।

फैसलमा रु तीन लाख जरिवाना, रु ५० हजार पीडित बालिकालाई क्षतिपूर्ति र रु दुई हजार आठ सय पीडित राहत कोषमा पीडकबाट भराउने समेत उल्लेख भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

दैलेखमा चैतदेखि जेठसम्मको अवधिमा १५ देखि १७ वर्ष उमेरका छोरीलाई बाबुबाटै बलात्कृत भएका चारवटा मुद्दा प्रहरीमार्फत अदालत पुगेका छन् ।

सोमबार भएको सजाय निर्धारण पेसीमा पीडितका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बहस गरेका थिए ।

सरकारवादी मुद्दाहरुमा जिल्ला सरकारी वकिल कार्यालयले कसुरदारलाई अधिकतम सजायको मागदाबीसहित अदालतमा अभियोग दर्ता गराउने र पीडितका तर्फबाट निःशुल्क बहस पैरवी गर्ने गर्दछ ।

प्रतिकृया दिनुहोस्