News Portal

संस्कृति प्रवर्द्धनसहितको अन्तर्राष्ट्रिय कूटनीतिमा जोड

फरकपोस्ट संवाददाताभदौ २४ काठमाडौं
१८९१ पटक
भदौ २४ काठमाडौं

नेपालले अन्य देश तथा अन्तर्राष्ट्रिय नियोगहरूसँगको सम्बन्ध स्थापना एवं विस्तार गर्दा संस्कृति प्रवर्द्धनलाई मुख्य आधार बनाउनुपर्ने धारणा जानकारले राखेका छन ।

सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले नवनियुक्त राजदूत तथा संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधिको सम्मानमा शनिबार आयोजना गरेको अन्तक्र्रिया, बधाई तथा शुभकामना कार्यक्रमका वक्ताहरूले संस्कृति प्रवर्द्धनसहितको कूटनीति स्थापनामा जोड दिएका हुन् ।

कार्यक्रममा वरिष्ठ संस्कृतिविद् तथा कवि तुलसी दिवसले देशको प्रतिनिधित्व गर्ने राजदूतले औपचारिकमात्र नभई अनौपचारिकरूपमा पनि सम्बन्ध अघि बढाउन सक्नुपर्ने बताए । सांस्कृतिक सचेतना र प्रवर्द्धनमा राजदूतको भूमिका महत्त्वपूर्ण हुने उनकाे भनाइ थियो ।

नेपाली भाषा, संस्कृति, रहनसहन, वेशभूषा चिनाउनका लागि परराष्ट्र मन्त्रालयबाटै राजदूतलाई अभिमुखीकरण तथा निर्देशन हुनुपर्नेमा संस्कृतिविद् दिवसले जोड दिए। “देश भौगोलिक सीमाभित्र हुन्छ । भाषा साहित्य संसारभरि फैलिएको छ । यो जीवन्त भएर बसेको हुन्छ । विदेशमा बस्नेहरूमा आफ्नो भाषा, संस्कृतिप्रति अझ बढी माया र लगाव हुन्छ”, उनले भने, “नेपालसँगको सम्पर्क टुटेकै कारण कोही पनि आफ्नो संस्कृतिबाट एक्लिन हुँदैन । त्यसलाई जोड्नका लागि विदेशस्थित दूतावासले भूमिका खेल्नुपर्छ ।”

नेपालको संस्कृति प्रवर्द्धनमा राजदूतको क्रियाशीलतामा संस्कृतिविद् दिवसले जाेड दिए । नेपालको संस्कृतिलाई विदेशमा चिनाउन राजदूतहरूले साथ दिँदामात्रै पनि ठूलो फड्को मार्ने उनकाे भनाइ थियो । “देशको पहिचान देशभित्र मात्रै हुँदैन । भाषा र संस्कृतिले नागरिकको पहिचान दिनुका साथै विदेशमा बस्दा यहाँको संस्कृतिको महत्व अझ बढी हुन्छ”, उनले भने, “यसका लागि राजदूतले सहजीकरण गरिदिनुपर्ने हुन्छ । भाषा र संस्कृतिको प्रयोग गरिएन भने औपचारिकतामात्रै बाँकी रहन्छ, हराउँदै जान्छ ।”

राजदूतहरू सांस्कृतिक कार्यक्रममा सरिक हुनुपर्ने कवि दिवसको भनाइ छ । आफू नेपाली संस्कृतिको प्रकृतिसँग सम्बन्ध प्रगाढ रहेको उहाँले बताउनुभयो । नेपालका लोकगीत, नाचगान, वेशभूषा, रहनसहनको प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध रहेको दिवसले बताए।

सोही कार्यक्रममा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापक डा खगेन्द्र लुँइटेलले विदेशमा नेपाली भाषा र संस्कृति प्रवर्द्धनका लागि राजदूतको भूमिका महत्त्वपूर्ण रहने बताए । संकृति र भाषाका माध्यामबाटै नेपाललाई विश्व समुदायमा चिनाउन सकिने उल्लेख गर्दै उनले हामी कमजोर छौँ भन्ने मानसिकताबाट मुक्त हुनुपर्नेमा जोड दिए। देशको आफ्नो छुट्टै पहिचानका लागि संस्कृति महत्त्वपूर्ण औजार हुने उनको धारणा थियो ।

थाइल्याण्डका लागि नवनियुक्त नेपाली राजदूत धनबहादुर ओलीले नेपालका असल अभ्यासबारे विश्व समुदायलाई कसरी जानकारी दिन सकिन्छ भन्नेबारे सोच्नुपर्ने बेला आएको बताए । संसारले सहिष्णुता चाहेको र नेपाल सहिष्णु मुलुकका रूपमा पहिचान बनाएकाले विश्व समुदायलाई शान्ति तथा सहिष्णुताको सन्देश दिनसक्ने उनको भनाइ थियो ।

कूटनीतिको ‘सफ्ट पावर’का रूपमा भाषा, संस्कृति रहने उल्लेख गर्दै राजदूत ओलीले आधुनिक बसाइँसराइले नेपाली संस्कृतिलाई विस्तार गर्ने अवसर पनि सिर्जना गरेको बताए । नेपाली भाषा तथा संस्कृतिलाई विश्व समुदायसँग जोड्न राजदूतले संयोजन गर्न सक्ने उनले बताएका थिए ।

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भाषा, संस्कृति, रहनसहन, वेशभूषा नेपालको पहिचान रहेको जनाउँदै यसको पुस्तान्तरण हुन आवश्यक रहेको बताए । विदेशका विश्वविद्यालयमा पढ्ने र पढाउने जनस्रोतलाई परिचालन गरेर संस्कृति प्रवर्द्धन गर्न सकिने उनको भनाइ थियो ।

कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले विदेशमा रहेका नेपाली परिवारले आफ्ना सन्ततिलाई नेपाली भाषा अनिवार्यरूपमा सिकाउन आवश्यक रहेको बताए । सांस्कृतिक प्रवर्द्धनका लागि दूतावास र राजदूतको भूमिका रहनेबारे आफू जानकार रहेको पनि उनले स्पष्ट पारे ।

संयुक्त राष्ट्रसङ्घीय स्थायी नियोग जेनेभाका लागि नेपालका प्रतिनिधि तथा स्वीटजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले नेपालमा पर्यटन गतिविधि बढाउनका लागि पनि सांस्कृतिक प्रवर्द्धन आवश्यक रहेको बताए । विश्वभर पहिचानको लडाइँ चलिरहेकाले नेपालले आफ्नो लय बिर्सन नहुने उनको भनाइ छ । त्यस्तै विश्व समुदायमा नेपाली संस्कृति प्रवर्द्धनका लागि आफूले अधिकतम प्रयास गर्ने प्रतिबद्धता पनि जनाए ।

सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालका अध्यक्ष वरिष्ठ लोकगायक बमबहादुर कार्कीले संस्कृति प्रवर्द्धनका लागि कुन क्षेत्रबाट कसरी काम गर्न सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रमा आयोजना गरिएको बताए । नेपालको लोकसंस्कृतिलाई स्वदेशमा मात्र नभई विदेशसम्मै प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो । रासस

प्रतिकृया दिनुहोस्