News Portal

रहेनन् नेपाली राजनीतिका सुबासिला सुवास नेम्वाङ

गाेविन्द अनेकभदाैं २६ काठमाण्डाैं
१३७६ पटक
भदाैं २६ काठमाण्डाैं

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण मंगलबार निधन भएको छ ७० वर्षको उमेरमा उनको निधन भएको हो ।

बालुवाटारस्थित आफ्नै निवासमा नेम्वाङलाई हृदयाघात भएपछि उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लैजादै गर्दा नेम्वाङको बाटोमै निधन भएको शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा.रमेश महर्जनले जानकारी दिए ।
हृदयघात भएका नेम्वाङलाई गएराति १ बजेर २० मिनेटको समयमा अस्पताल पुर्‍याईएको थियो । अस्पतालले नेम्वाङको मंगलबार बिहान ४ः२० मिनेटमा निधन भएको औपचारिक घोषणा गरेको थियो ।

बि.स. २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा एमाले नेता नेम्वाङको जन्म भएको थियो ।

२०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भएका नेम्वाङ इलामबाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आएका थिए । २०६४ सालको संविधानसभा निर्वाचन र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा इलाम– २ बाट विजयी भएका नेम्वाङले संविधानसभाको अध्यक्ष जस्तो गौरवपूर्ण र महत्वपूर्ण जिम्मेवारी पूरा गरेका थिए ।

शालीन, भद्र र सच्चा नेताको रूपमा परिचित नेम्वाङ आफ्नो राजनीतिक जीवनमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसद्को सार्वजनिक लेखा समितिको सभापतिसमेत भएर काम गरेका थिए । भाषण शैलीमा मधुरता, नेता कार्यकर्ताका बिचमा आर्दश र सम्मानित नेतृत्वका पर्यायका रुपमा रहेका नेम्वाङ कानुन विषयका विद्यार्थीसमेत थिए ।
२०६२/०६३ को जनआन्दोलनपछि संसद पुर्णस्थापित भयो । यतिबेला नेम्वाङ सभामुख बने । त्यसैगरी पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा नेम्वाङले अनुकरणीय भूमिका निर्वाह गरेका थिए ।

नेम्वाङ गत ०७९ माघ १० गते राष्ट्रपति पदमा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए तर उनी निर्वाचनमा रामचन्द्र पौडेल सँग पराजित भएका थिए । २०७९ मंसिरमा भएको संसदीय निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा नेम्वाङ निर्वाचित भएका थिए ।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति निर्वाचित भएका थिए । उनले २०३३ सालमा राजकाज मुद्दामा जेल जीवनसमेत बिताएका थिए ।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्र्सवादी पार्टीबिच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ पनि आबद्ध थिए । त्यसपछि २०५४ को छैटौँ महाधिवेशनदेखि पार्टी केन्द्रीय कमिटी सदस्य चुनिएका नेम्वाङ २०७१ सालमा भएको एमालेको नवौँ महाधिवेशनपछि स्थायी कमिटी सदस्य र २०७८ साल मंसिरमा चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएका थिए ।

नेम्वाङ एमाले संसदीय दलको उपनेता समेत रहेका थिए । शालीन, भद्र र सच्चा कम्युनिष्ट नेताका परिचय बनाएका नेम्वाङ नेपाली राजनीतिका सुबासिल पात्रका रुपमा स्थापित रहेका थिए । शान्ति, सहमति, सहकार्य र मेलमिलापसहितको राजनीतिका पक्षमा नेम्वाङले सधै अडिक रहने गर्थे ।

२०६२/०६३ को जनआन्दोलनपछि नेपालको नयाँ संविधान निर्माणमा नेम्वाङले खेलेको नेतृत्वदायी र आदर्श भूमिका नेपाली राजनीति र नेपाली जनताका बिचमा गौरवपूर्ण इतिहासका रुपमा लेखिएको छ ।

माओवादी शान्ति प्रक्रिया र शान्ति प्रक्रियापछि संविधानसभाबाट नेपालको नयाँ संविधान जारी गराउन नेम्वाङको अनुकरणीय भूमिका रहेको थियो । संविधान निर्माणका क्रममा असन्तुष्ट र असहमत पक्षसँग निरन्तर छलफल, बार्ता र संवाद गरेर सहमति जुटाई संविधान निर्माण सँगै संविधान जारी गराउने विषयमासमेत सक्रिय रुपमा नेम्वाङ लागि परेर सहमतिको विन्दु पहिल्याउन निरन्त प्रयत्न गरेका थिए ।

एक निडर र इमान्दार राजनीतिकर्मीका रूपमा विद्यार्थी राजनीति हुँदै कोअर्डिनेशन केन्द्र, नेकपा ‐माले) र नेकपा (एमाले) पार्टी निर्माण एवम् विस्तारमा नेम्वाङले लिएकोे पहलकदमी, योगदान, नेतृत्व र समन्वय सँगै व्यवस्था परिवर्तन, समाज रूपान्तरण, संविधानको रक्षा र विधिको शासन स्थापना गर्दै नेपाललाई समुन्नत राष्ट्र बनाउन नेम्वाङको अहम भूमिका रहेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बताएका छन् ।

नेम्वाङका सहपाठीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेम्वाङ नेपाली राजनीतिमा सहमति र सहकार्यको पर्यायजस्तै रहेको बताउँछन् ।

‘नेपाली समाज र नेपाली राजनीति बुझेका नेम्वाङ नेपाली राजनीतिमा सहमति र सहकार्यको पर्याय नै हुनुहुन्थ्यो’, खनालले भने, ‘पछिल्लो समयसम्म पनि सहमति र सहकार्यमै जोड दिने गर्नुहुन्थ्यो ।’

खनालले सुवासचन्द्र नेम्वाङ एउटा सरल स्वभावको मृदुभाषी नेता भएको भन्दै एउटा कुशल सांसद र नेता रहेको बताए । ‘निकै लामो समय उहाँले सभामुख भएर संसद् परिचालनमा पनि महत्त्वपूर्ण योगदान दिनुभयो’, खनाल स्मरण गर्छन्, ‘संविधानसभा अध्यक्ष भएर आजको संविधान निर्माण गर्ने काममा उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो, त्यो हामी सबैका लागि स्मरणीय रहने छ ।’
त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता नेम्वाङ पार्टी उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी भएको बताएका छन् ।

‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो । लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनु भएको योगदान सधैँ सम्झिरहने छौँ’, ओलीले भनेका छन् ।

नेपाली राजनीतिका विशेष परिस्थिति र कालखण्डमा महत्वपूर्ण, आदर्श र अहम भूमिका निर्वाह गरेका नेम्वाङ नेपाली जनता र नेपाली राजनीतिका एक सुबासिला नेताका रुपमा स्थापित रहेका थिए ।

प्रतिकृया दिनुहोस्