News Portal

चन्द्रमामै निष्क्रिय जापानी यान, सूर्यको प्रकाश पाउँदा सक्रिय हुने आशा

फरकपोस्ट संवाददातामाघ ०९ काठमाडौँ
१७३ पटक
माघ ०९ काठमाडौँ

जापानले चन्द्रमामा सफल अवतरण गराएको अन्तरिक्षयानसँगको सम्पर्क विच्छेद भएको छ । ‘The Smart Lander for Investigating Moon’ अर्थात् स्लिम नामक उक्त यान सौर्य ऊर्जामा आएको समस्याका कारण बन्द भएको हो ।

चन्द्रमाको सतहमा शनिबार ऐतिहासिक अवतरण भएको तीन घण्टा पछि नै उक्त यान बन्द भएको थियो।

यानमा रहेको सोलार प्यानलमा देखिएको खराबीका कारण यसको ब्याट्री चार्ज हुन पाएको छैन । शनिबार राति ब्याट्री सकिने बताइएको थियो । तर, जापानी अन्तरिक्ष एजेन्सी जाक्सालाई भने यो निदाएको ल्याण्डरलाई जगाउन सकिने आशा छ । यदि सूर्यको प्रकाश सही ठाउँमा पर्‍यो भने यसको ब्याट्री चार्ज भएर स्वीच अन हुन सक्ने अपेक्षा जाक्साले गरेको छ।

इन्जिनियरहरुका अनुसार यो यानमा जडित सोलार प्यानलहरु पश्चिम तर्फ फर्किएका थिए, जुन सूर्यको प्रकाश आएको दिशाबाट विपरीत् हो । त्यसैले सौर्य ऊर्जा उत्पादन हुन सकेन र ब्याट्रीको चार्ज सकिए पछि यान बन्द भयो ।

तथापि प्रकाशको अवस्था परिवर्तन हुँदा अवस्थामा सुधार आउने आशा मिसन टोलीको छ ।

जाक्साले एक विज्ञप्तिमा भनेको छ- यदि सूर्यको प्रकाश भविष्यमा चन्द्रमामा पश्चिमतर्फबाट लाग्यो भने ऊर्जा उत्पादन हुने सम्भावना हुन्छ भन्ने हामीलाई विश्वास छ । अहिले हामी यसको पुनर्स्थापनाका लागि तयारी गरिरहेका छौं ।

स्लिम मिसन, अर्थात् मून स्नाइपरको चन्द्रमामा सटिक अवतरण पछि जापानले चन्द्रमामा आफ्नो अन्तरिक्ष यान सफ्ट ल्यान्डिङ्ग गराउने पाँचौँ देशको कीर्तिमान बनाएको थियो । तर अवतरणपछि भने यसको ऊर्जा रित्तिदाँ यसले थप काम गर्न नसक्ने अवस्था भएको छ ।

तथापि जापनी अन्तरिक्ष एजेन्सी जाक्साले ब्याट्रीको चार्ज पूरै नरित्तिदैँ यसलाई बन्द गर्ने निर्णय गरेको थियो ताकि भविष्यमा यसलाई पुनः जगाउन सकियोस् ।

जाक्साले भनेको छ- भविष्यमा रि-स्टार्ट गर्न नसकिने अवस्था नआओस् भन्नका लागि हामीले १२ प्रतिशत ब्याट्री चार्ज छँदै ब्याट्रीलाई डिस्कनेक्ट गरी यानलाई बन्द गरेका थियौ। जसका कारण जापानी समय अनुसार शनिबार करिब ३ बजे उक्त यान स्वीच अफ भएको थियो ।

बन्द हुनु अघि मिसन कन्ट्रोलले यानको अवतरणका डाटा तथा तस्वीरहरु लगायतका विवरणहरु सफलतापूर्वक संकलन गरेको थियो ।

जापानी अन्तरिक्ष एजेन्सीका प्रमुख हितोशी कुनिनकाका अनुसार चन्द्रमामा सौर्य कोण परिवर्तन हुन ३० दिन लाग्दछ । अर्थात् जब सौर्यकोण परिवर्तन हुन्छ तब प्रकाश विपरीत दिशाबाट आउँछ । यस्तो अवस्थामा पश्चिम दिशामा फर्किएका यानका सोलार प्यानलहरुले प्रकाश प्राप्त गर्नेछन् र यानको ब्याट्री रिचार्ज हुनेछ । यसबाट ल्यान्डरले पुनर्जिवन पाउने आशा जाक्साको छ ।

प्रतिकृया दिनुहोस्