News Portal

सांस्कृतिक परिषद्को कार्यसमिति गठन, अध्यक्षमा बमबहादुर कार्की

फरकपोस्ट संवाददातामाघ २४ काठमाडौं
१३०५ पटक
माघ २४ काठमाडौं

वरिष्ठ लोक तथा दोहोरी गायक बमहादुर कार्कीको अध्यक्षतामा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् गठनको कार्यसमिति गठन भएको छ । मंगलबार काठमाडौंमा आयोजित परिषद्को प्रथम अधिवेशनले १४ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । परिषद्ले केही महिनाअघि तदर्थ समिति बनाएर आफ्नो गतिविधिहरु अगाडि बढाउदै आएको थियो ।

परिषद्को वरिष्ठ उपाध्यक्षमा विष्णु खत्री, उपाध्यक्षमा राजु परियार, महासचिवमा बैकुण्ठ महत, सचिवमा केशरी घर्ती मगर र कोषाध्यक्षमा टीका पुन निर्वाचित भएका छन् । सदस्यहरुमा खर्क बुढा मगर, शिवा आले, खड्ग गर्बुजा, प्रा. डा. ऋषिराम शर्मा, नरहरि प्रेमी, कमलीकान्त भेटुवाल, रामप्रसाद कँडेल र मनोजसिंह धामी छन् । बाँकी तीन सदस्य मनोनित गर्ने जनाइएको छ ।

उक्त अवसरमा लोकदोहोरी र संगीत क्षेत्रका व्यक्तिलाई समेटेर ४० जना आजीवन सदस्य पनि घोषणा गरिएको छ ।
संस्थाले संगठन निर्माणमा जोड दिने, प्रकाशन र दस्तावेजीकरणमा जोड दिने, लोपोन्मुख संस्कृतिको संरक्षण गर्ने, सरकार र राष्ट्रसंघीय नियोग युनेस्कोसँग सहकार्य गरी मूर्त र अमूर्त संस्कृतिको खोज अनुसन्धान गर्ने योजना तय गरेको छ ।

सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव बैकुण्ठ महतले प्राज्ञिक माध्यमबाट संस्कृतिको क्षेत्रमा योगदान दिने उद्देश्य संस्थाको रहेको उल्लेख गरे । कार्यक्रमको प्रमुख आतिथ्यता संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले गरेकी थिइन् । उनले संस्कृति जगेर्ना गर्न यो संस्थाको योगदान महत्वपूर्ण हुने बताइन् ।
कार्यक्रममा वरिष्ठ साधक तथा नृत्यशास्त्री ९२ वर्षीय भैरवबहादुर थापालाई अभिनन्दन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्