News Portal

घरेलु मदिरा ब्राण्डिङको सुझाव दिन कार्यदल गठन

फरकपोस्ट संवाददाता
७७३ पटक

१३ वैशाख, विराटनगर । कोरोना महामारीले आक्रान्त बनाइरहेको अवस्थामा प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिरालाई ब्राण्डिङ गर्न भन्दै कार्यदल गठन गरेकी छन् । उनले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गठन गरेकी हुन् ।

कार्यदलमा प्रदेश योजना आयोग सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाई, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाई, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पती अधिकृत राजेश तामाङ छन् । कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराई छन् ।

कार्यदलले ४५ दिनभित्र मन्त्रालयमा प्रतिवेदन पेश गर्ने छ । ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा कार्यान्वयनका लागि सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

आलोचना

सार्वजनिक स्थललाई लागूऔषध, ध्रम्रपान र मद्यपानको पहुँचबाट टाढा राख्नुपर्ने जिम्मेवारीमा रहेकी मन्त्री राईले घरेलु मदिरालाई ‘ब्यान्ड भर्सेस ब्राण्ड’को अवधारणा अघि सारेको भन्दै कतिपयले आलोचना पनि गरेका छन् ।

कोरोना महामारीकाबीच मदिरा अध्ययन गर्ने इच्छा देखाउनु लाजमर्दो भएको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले टिप्पणी गरे ।

‘सरकारी कार्यालय, विद्यालयलगायत सार्बजनिक स्थललाई धूम्रपान मध्यपान लागुऔषधबाट टाढै राख्ने ऐन कार्यवन्यन गर्ने दायित्व बोकेको सामाजिक विकास मन्त्रालय र मन्त्री नै ब्यान्ड भर्सेज ब्राण्ड भन्दै रक्सी अध्ययन कार्यदल गठन गर्दै हिँड्नु अज्ञानता मात्र होइन, प्रदेशकै सर्मिन्दाको विषय हो,’ उनले भने, ‘लोकल रक्सी नै ब्रान्डिङ गर्न आवश्यक अध्ययन गर्ने सरकारी तदारुकता भए उद्योग वाणिज्य मन्त्रालयलाई जिम्मा दिनु नि, संवेदनशील मन्त्रालयको जिम्मेवारी लिएर रक्सीको अध्ययन गर्ने कार्य लज्जास्पद र भत्सर्नायोग्य छ ।’

साभार : अनलाईनखबर

प्रतिकृया दिनुहोस्