News Portal

राष्ट्रघाती गद्दारहरुलाई जनताले उचित सजाय अवश्य दिने छन् वीरबहादुर पुन

फरकपोस्ट संवाददाताफागुन १८ काठमाण्डाैं
२१०४ पटक
फागुन १८ काठमाण्डाैं

वीरबहादुर पुन केन्द्रीय सदस्य राष्ट्रिय जनमोर्चा, केन्द्रीय समन्वय समितिका नेता संग हाक साप्ताहिकले गरेकाे समसायमिक कुराकानी

तपाईहरुले राष्ट्रघाती भन्दै आएको एमसीसी त सदनबाट पास भयो नि, अब के गर्नु हुन्छ तपार्ईहरु ?

हो, राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको छ । यो अत्यन्त दुखद र खेदजनक छ । किन भने अब देश हिजोको नेपाल रहेन । एमसीसी संसदले अनुमोदन गरेपछि नेपालले मान्दै आएको असंलग्न परराष्ट्र नीति पनि बदलिन पुगेको छ । नेपाल अब आफ्नो असंलग्न परराष्ट्र नीतिलाई लत्याएर एउटा शक्ति राष्ट्रको कठपुतली बन्न पुगेको छ । यसरी देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि नै गम्भीर समस्या हुने काम संसदले नै पास गर्यो । अब देशमा एमसीसीको परियोजना संचालन र सुरक्षाको नाममा अमेरिकी सेना आउन ढोका खुला गर्ने काम भयो । यसैको नाममा देशको सामरिक महत्वका ठाउँहरुमा अमेरिकी सेना आउने र बस्ने निश्चित भयो । अब यसबाट देश, जनता, राष्ट्रियता र सार्वभौमिकतालाई बचाउनको लागि, नेपाली जनताले यसका विरुद्धमा ठूलो शक्तिशाली जनआन्दोलन गर्न जरुरी छ । हामी त्यसको तयारीको लागि जनतालाई सचेत पार्ने, संगठित गर्ने काममा निरन्तर लागिरहने छौं ।

उनीहरुले त व्याख्यात्मक टिप्पणी सहित पास गरेका छन् नि, राष्ट्रघाती प्रावधानहरु हटायौं भनिरहेका छन्, अनि फेरि विरोध किन नि ?

यो व्याख्यात्मक टिप्पणी सहित भन्ने जुन कुरा आएको छ, त्यो त उही ‘मनको लड्डु घ्युसँग खाए’ भने जस्तै हो । अमेरिकाले यसमा एउटा पनि अक्षर तलमाथि हुँदैन भनी बारम्बार भनी राखेको छ । संसदमा कांग्रेस नेता मिनेन्द्र रिजालले नै भने नि–‘यो व्याख्यात्मक टिप्पणी त कसैको जुंगा बचाउन मात्र राखिएको हो’ भनेर । त्यसैले यिनीहरुको व्याख्यात्मक टिप्पणी सहित पारित गरेका छौं र त्यसमा भएको राष्ट्रघाती बुँदाहरु हटाएका छौं भन्ने भनाई सरासर गलत हो । यो नेपाली जनता, आफ्ना समर्थक कार्यकर्ताहरुलाई भ्रम पार्न मात्र गरिएको खेल हो । वास्तावमा त्यसरी राष्ट्रघाती एमसीसी संसदबाट अनुमोदन गरेर ती पार्टी र नेताहरुले देश र जनताप्रति ठूलो गद्दारी गरेका छन् । जनताले उनीहरुको यो राष्ट्रघाती कुकर्मको एक उक हिसाब राखेका छन् । जनताले समयक्रमसँगै यनी राष्ट्रघाती गद्दारहरुलाई उचित सजाय अवश्य दिने छन् ।

तपाई प्यूठान जिल्लाको स्थापित नेता पनि हुनुहुन्छ, के छ अहिले प्यूठानमा तपाईहरुको पार्टीको अवस्था ?

–हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (मसाल) देशको सबैभन्दा क्रान्तिकारी पार्टी थियो । किनभने सर्वहारावर्गको उत्पीडित वर्गको मुक्ति, शोषणविहिन समाजको निर्माण, नयाँ जनवादी क्रान्ति हुँदै समाजवाद साम्यवादमा पुगि सम्पूर्ण उत्पीडित वर्गको मुक्ति–यो नेकपा मसालले गर्दछ, यसको नीति सिद्धान्तले गर्छ भन्ने लागेको हुनाले हामी यो पार्टीमा लाग्यौं । प्यूठानका अधिकांश जनताले विश्वास गरेका थिए मसाललाई । तर अहिले पछिल्लो समयमा यो पार्टीको नेतृत्वले हिजोको मसालको नीतिबाट विचलित भई यही संसदीय व्यवस्थालाई नै प्रमुख ठानि यसमा नै प्रमुखता दिने, चुनाव कसरी जित्ने ? त्यतातिर मात्रै ध्यान दिने र सरकारमा कसरी पुग्ने ? आफ्नो मान्छे कसरी पुराउने ? भन्ने ध्यान त्यसैमा केन्द्रित गराएको छ । र, त्यो उद्देश्य पूरा गराउन क्रानितकारी नीतिलाई पनि महाधिवेशनबाट परिमार्जन गरी सरकारमा जाने नीतिलाई खुल्ला राख्ने अहिलकेो अवस्थामा चुनावलाई उपयोग नै गर्ने हो भनी दस्तावेजमा लेखी पास गराउने काम भएको छ । यो तरिका भनेको सधैभरी चुनावमा जाने नै हो भने त्यसपछि आफ्नो मान्छेलाई मन्त्री बनाउने बाटो खोलेको हो । वर्गसंघर्षका कार्यक्रम, कार्यकर्ता जनताको पार्टी क्रान्तिप्रति मिलिटेन्ट, जुझारु बनाउने, वर्गदुश्मनसँग साँठगाँठ गर्ने, संघर्षलाई उपेक्षा गर्न थाल्यो । यसै हुनाले हामीले पार्टीले दक्षिणपन्थी कार्यदिशा अपनायो भनेका छौं । हामीले पार्टीभित्र लगातार आफ्नो मत राख्दै आयौं । तर नेतृत्वले यो कुरालाई सुनेन, बरु उल्टै हामीमाथि कार्वाहीको डण्डा बर्षाइयो । अहिले हामी व्यापक कार्यकर्ताको बीचमा पुगेर सम्पूर्ण कार्यकर्ताले नै ठूलो दबाब दिएर नेतृत्वले अपनाएको दक्षिणपन्थी कार्यदिशालाई सुधारेर एउटा सशक्त क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरेर जानुपर्छ भन्ने मान्यताका साथ क्रान्तिकारी पार्टी निर्माणको दिशामा अगाडि बढेका छौं ।

तपाई जीवनभर पार्टी क्रान्तिप्रति सबै छोडेर लागेको मान्छे, के त्यस्तो अनुशासनविहिन काम गर्नु भयो र तपाईलाई मसालले फाल्नै पर्यो ?

म यो पार्टीमा सबै छोडेर लागेको सत्य हो । सबै भन्दा ठूलो पार्टी हो, यसले गर्ने क्रान्तिले आम शोषित पीडित वर्ग, सर्वहारा वर्ग उत्पीडित वर्गको मुक्ति हुन्छ, त्यो मुक्ति भित्र मेरो जीवनको मुक्ति, परिवारको मुक्ति सबै हुने भएकोले म समर्पित भएर लागेको हो । म जस्तै अरु धेरै साथीहरु लाग्नु भाएको छ । तर हामी सबै ले विश्वास गरेको पार्टी वर्गसंघर्षबाट टाढा भाग्दै कम्युनिस्ट मूूल्यमान्यताबाट बिचलित भएर यही संसदीय व्यवस्था भित्र नै रमाउन थालेपछि क्रान्तिकारी विचारको रक्षाका लागि हामीले विद्रोहको झण्डा उठाएका हौं । हामी आम इमान्दार कार्यकर्ताहरु कम्युनिस्ट क्रान्तिकारी पार्टी मसाल पनि विचलित भई दक्षिणपन्थी कार्यदिशा समात्यो भन्ने चिन्ताले हिजोको क्रान्तिकारी कम्युनिष्ट पार्टी मसाल निर्माण गरी अघि बढ्न् पर्छ भन्ने उद्देश्यले त्यसलाई क्रान्तिकारी पार्टीको गतिमा अगाडि बढाउने प्रस्तावमा समर्थन ग¥यौं र साथ दियौं । मैले पनि त्यसमा साथ दिएँ । तर मसाल नेतृत्वले पार्टीलाई गलत दिशामा जानबाट सच्चाउनुको साटो हामीलाई अनुशासन उल्लंघन गरेको आरोप लगाई पार्टीबाट कार्वाही गर्ने काम ग¥यौं । म माथि मसाल नेतृत्वले गरेको कारवाही त्यो भिन्न विचारमाथिको दमन नै थियो ।

अब कसरी अगाडि बढ्ने सोंच बनाउनु भएको छ ?

हामी अन्त्यसम्म पनि पार्टीलाई फुट हुनबाट बचाई अझ पार्टीलाई बलियो शक्तिशाली क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरी जानु पर्छ भनी लागि रहेका छौं । हाम्रो मत सबै कार्यकर्ताहरुले सही ढंगले विना पूर्वाग्रही रुपले पार्टीमा वास्तविक रुपमा दक्षिणपन्थी कार्यदिशाको असर परेको छ कि छैन ? हिजोको ५५/५६ सालको मसालको संगठनको अवस्था र आजको संगठनमा ह्रासको अवस्थाबारे गम्भीर भएर चिन्तन मनन गर्न सबै इमान्दार कार्यकर्ताहरुमा अनुरोध गरेका छौं । हाामीले कोअर्डिनेशन केन्द्रको समिति बनाई संस्थापन पक्षलाई पत्र पठाई वार्ताको लागि आग्रह गरेका छौं र विशेष महाधिवेशन गरी यी गलत निर्णयलाई सुधार गरी पार्टीलाई एक ढिक्का र अझ बलियो क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गरी जानुपर्छ भनिरहेका छौं । तर दक्षिणपन्थी भाषमा चुर्लुम्म डुबेको मसाल नेतृत्वले अहिलेसम्म पनि हाम्रो कुरा सुनिरहेको छैन ।

 प्यूठान जिल्ला मसालको लाल किल्ला भनिन्थ्यो, के छ प्यूठान जिल्लामा मसालको पछिल्लो अवस्था ?

प्यूठान जिल्ला क्रान्तिकारी कम्युनिस्ट पार्टीको आधार भएको जिल्ला हो । तर आज त्यसमा क्रमशः स्खलन हुँदैछ । पार्टी कमजोर हुँदैछ । हिजो हामी प्यूठानमा दुई क्षेत्रमा जितेका थियौं पछि आएर १ क्षेत्र जित्यौं । अब त्यो १ सिट पनि एक्लै संगठनको बलले जित्न सक्ने अवस्था छैन । त्यो किन भयो भने पार्टीको क्रान्तिकारी नीति सिद्धान्तबाट विचलित भई दक्षिणपन्थी कार्यदिशा समातेको कारण संगठन कमजोर भएको हो ।
जहाँसम्म दक्षिणपन्थी कार्यदिशा संसदीय दलदलको प्रभाव हिजोका हाम्रा क्रान्तिकारी स्पीरिट भएका कार्यकर्ताहरुको नशानशामा घुसाउन खोजिएको छ । जसका कारण पार्टी क्रान्तिकारी निर्माणको छलफल गर्दा पार्टीले दक्षिणपन्थी नीति लिएकोमा केही साथी सहमत देखिन्छन् । त्यसैले चुनावमा हारिन्छ अहिले यत्तिकै बसौं भन्दछन् । धेरै साथीहरु क्रान्तिबाट विचलन भएको दक्षिणपन्थी कार्यदिशा लिएको संसदीय आहालमा पार्टी फसेकोमा चिन्तित हुनुहुन्छ । सबै क्रान्तिकारी साथीहरुलाई सचेत बनाउँदै हाम्रो क्रान्तिकारी पार्टीलाई उठाउन लाग्नु पर्दछ भन्ने साथीहरु पनि प्रशस्तै हुनुहुन्छ । हामीलाई विश्वास छ– पक्कै पनि यो विचार नै अन्त्यमा बलियो भएर जाने छ । पार्टी बलियो र हिजोको मसाल जस्तै शक्तिशाली बनेर जाने कुरामा ढुक्क छौं हामी ।

अन्तमा त्यस्तो केही थियो कि ?
–देश अहिले अत्यन्त संकटपूर्ण अवस्थामा छ । देशको राष्ट्रियता, स्वाधिनतामाथि कालो बादल मडारिइरहेको छ । सम्पूर्ण देशभक्त तथा वामपन्थी शक्तिहरु मिलेर राष्ट्रियता रक्षाको लडाई अगाडि बढाउनुपर्दछ ।
श्रमजीवि जनताको वास्तविक मुक्ति सच्चा कम्युनिस्ट पार्टी नेतृत्वको नयाँ जनवादी क्रान्तिले मात्र गर्न सक्दछ । तर विडम्बना नेपालमा त्यस्तो कम्युनिस्ट पार्टीको अहिले अभाव खड्किरहेको छ । हामी सबै त्यही पार्टी निर्माणको दिशामा अघि बढ्नुपर्छ । आफ्ना विचारहरु राख्ने अवसर दिनु भएकोमा हाँक साप्ताहिक प्रति हार्दिक आभार व्यक्त गर्दै यो पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

अन्तर्वार्ता – जितामित्र सुनार हाक साप्ताहिक

प्रतिकृया दिनुहोस्