
पहिलोपटक पोखरा भेट्न हिडेको म, पोखरामा पाइला टेक्दा मैले पोखरा हैन पोखराले मलाई भेटेको अनुभुती गरे । जब प्लेन बाट ओर्लिए त्यसपछि प्रकृतिको सुन्दरताले पोखराका आँगनभरी सुकाएका मनोरम दृश्यका बिस्कुनले मलाई भव्य स्वागत गरेको गरे । आफ्ना दन्तेलहर देखाएर हाँसिरहेका माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि, र मनास्लु हिमश्रृंखलाहरु देखेर मेरो मन फुरुङ्ग भयो । एकछिन मभित्रका सुखदुःख का हर कुराहरु भुलेर तिनै हिमालहरु संग दाजिएर मेरो ओठहरु सुस्कुराएर ! विश्वभरका मानव संग सुमधुर प्रित् गासिरहेको फेवा, रुपा अनि बेगनास ताल, छिनमै छर्लङ्ग घाम देखिने अनि छिनमै कालो बादलको घुम्टोले घपक्क ढाकिने पोखराको त्यो आकाश, त्यहीँ आकाश छुम्ला झै गरेर सरङकोटको टापुबाट उडेका प्याराग्लाइडिङ, प्याराग्लाइडिङ संगै उडेका हर मान्छेका मनोभावनाहरु सजिलै आकाश चुमेको तातो अनुभूति गरिरहेका छन ।
अन्नपूर्ण हिमालको मनमोहक दृष्यसँगै सेतीमा र्याफटिङको छाल संगै आफूलाई पनि भावनाको गहिराईमा बगाइरहेका निकै खुसी देखिने मानवहरु, लेकसाइडको वरपर जब गोधुली साँझ पर्छ तब कुनै नया ग्रहमा पाइला राखेको जस्तै आनन्दित तुल्याउने र तमाम मान्छेहरुको मनका कुना—कुना छुने मनोरम दृश्यहरु । नौँडाँडा, पन्चासे, ठूलोकोट, सारङ्कोट र विश्व शान्ति स्तूपा हाइकिङका विश्राम र अवलोकन गर्न संसारभर बाट उर्लिएका मानसागरहरु, साच्चिकै विश्वलाई तानिरहेको पोखराले कुनै एउटा व्यक्ति वा मान्छेको मनलाई नतान्ने कुरा पक्कै पनि भएन । पोखराको प्राकृतिक शितलता जति गहिरो छ त्यो कुरा पोख्रेलीको व्यवहारमा पनि भेटिने ।
अर्गानिक धरातलमा रहेर सञ्चालन गरिएका पोखराका सुविधा सम्पन्न होटेलहरु अनि त्यही होटेलको विभिन्न परिकार सँग रमाउदै घण्टाैं, दिनहुँ, महिनाैं बिताउने आन्तिरक एवम् वाह्य पर्यटकहरु पोखरा छिरेपछि स्वर्गको आभास,गरिरहेका हुन्छन् । फेवातालको डुङ्गामा सवार जोकोही पनि डुङ्गाबाट कहिले वारि छेउ त कहिले पारि छेउ गर्दै आफ्नो जिन्दगी नै पार लगाएको स्वर्गिय आनन्द प्राप्त गरिरहेका हुन्छन् । फेवातालको कञ्चन पानी जस्तै सफा मन लिएर दैनिक फेवातालको पेरिफेरिमा अल्झिरहने माझी दाईहरु, कहिले जोडी कहिले, एक्लो कहिले स्वदेशी कहिले विदेशी मनहरुलाई पुरानो डुङ्गामा राखेर वारपार गराइरहेका आहा ति दृश्य कति लोभलाग्दा ! कसको मन न लोभीएला ।
पोखराको हरेक कुनामा सुन्दरताका मझेरी थापेर बसेका थुप्रै पर्यटकीय स्थलहरुले पोखरालाई साच्चिकै पोखरा बनाइरहेका छन । धर्म संस्कृति, विश्वास, श्रद्धाकार कचप्प भारी बोकेर विन्ध्यवासीनी पुग्ने सयौं मान्छेका ति हूलहरु पनि कम्ती रमणीय छैनन् ।
फरकफरक भेषभूषा, संस्कृति र मूलुकका थरिथरि मान्छेका मिश्रित दृश्यहरुले पोखरामा सुन्दरताको हलचल मच्चिरहेको छ । मुस्ताङ पुग्न, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, धौलागिरि लगायतका हिमश्रृखलाहरुको अरोहणमा हिडेका स्वदेशी विदेशी यात्रीहरुको लहरले झनै गजबको रौनक भर्दै पोखराको सुन्दरताको मालाहरुमा थुङ्गाहरु थपिरहेका छन । विश्वलाई प्राकृतिक सुन्दरताको फराकिलो परिचय दिइरहेको पोखराले नेपालको सान भव्य अनि सभ्य तरिकाले बढाएको छ ।
पोखरा त्यसै सुन्दरताको खानी बनेको रहेनछ यहाँका हर मन चुडाउने दृश्यहरु प्राकुति सुन्दरता अनि साच्चिकै सहयोगी अनि मनकारी भावनाले ओतप्रोत पोख्रेलीहरु ! यी र यस्तै तमाम कुराले पोखरा ! पोखरा भएको छ । र त पोखरा भेट्न हिडेको म पोखराले भेटेको पाएँ !