
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिकता दिन प्रदेश सरकारलाई आग्रह गरेका छन् । आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उनले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताए ।
प्रमुख शेरचनले विद्यमान समावेशी र समानुपातिक सहितको सङ्घीय व्यवस्था अन्तरराष्ट्रिय जगतका लागि उदाहरणीय भएको जनाउँदै संविधानअनुसार यो व्यवस्थाको सही कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे । “संविधानलाई आफू अनुकूल व्याख्या गर्ने र संविधानको मर्म र भावनाभन्दा फरक ढङ्गले हिँड्ने स्थिति सिर्जना हुुनु हुँदैन । संविधानले निर्दिष्ट गरेका अधिकारभन्दा बाहिर जाने छुट हामीलाई छैन’ संविधानको पुस्तक हातमा राख्दै उनले भने ।
शेरचनले संविधानभन्दा माथि कोही नभएको बताउँदै आफूले संविधानले निर्दिष्ट गरे अनुसारको निर्णय गर्ने बताए । उनले विवाद सुल्झाएर कालिगण्डकी तिनाउ डाइभर्सनको कामलाई समेत अघि बढाउनुपर्नेमा जोड दिए । प्रदेश सरकार, राजनीतिक दल, संघसंस्था र नागरिक समाजसँग छलफल गरेर उनीहरुले दिएका सुझावका आधारमा आफू अघि बढ्ने समेत शेरचनले स्पष्ट पारे । रातोपाटी