News Portal

विदेशबाट फर्किएर बाख्रा पालनमा रमाउदै प्यूठानी युवा

विदेशको जत्ती दुख स्वदेशमै गरे पखेरामै सुन फलाउन सकिन्छ

झइन्द्र भण्डारी साउन १९ प्यूठान
२१९४ पटक
साउन १९ प्यूठान

स्वर्गदारी नगरपालिका १ कोचिबाङ भन्ज्याङ प्यूठानका २६ वर्षीय युवा भूप बहादुर पुन मगर अहिले बाख्रा पालनमा रमाइरहेका छन । धन पैसा कमाएर जीवनलाई सुखी बनाउने उदेश्य बोकेर आजभन्दा पाँच वर्ष पहिले खाडी मुलुक कतार उडेका भुप बहादुर कम्पनीको समस्याको कारण ३ महिनामै नेपाल फर्किएका थिए । साहु संग ऋण काडेर कतार पुगेका भुप बहादुर तुरुन्तै फर्किन वाध्य भए, त्यसपछि दुवैको लागि प्रयास गरे तर त्यो प्रयास पनि असफल भयो ।

विदेशीदाको ऋण तिर्न भारतको केरेला पुगेका पुनले त्यहाँ निकै दुख गरेको बताए । केरेलामा दुख गर्दा यत्ति दुख गर्ने हो भने त नेपालमा आफ्नै गाउँको पखेरामा पनि सुन फलाउन सकिन्छ भन्ने उर्जा उनको मनमा आयो ।

कोरोना महामारीको चपेटामा परेर स्वदेशमै मेहनत गर्छु भनी घर फर्किएका पुनले पोहोर श्रावण महिनादेखि बाख्रापालन व्यवसाय सुरु गरेका हुन । बहु लक्ष्य बाख्रा कृषि तथा तरकारी फर्म प्रा. लि. दर्ता गरेर औपचारिक रूपमै व्यवसायीक बाख्रा पालन थालेका पुनले अहिलेसम्म ३ लाख ५० हजार बराबर लगानी गरिसकेको हामीलाई बताए । बाख्रा पालन व्यवसाय सुरू गरिसके पछि गत असार महिनामा खोर सुधारको लागि नगरपालिकाको पशु शाखाबाट ४६ हजार ४ सय रुपैयाँ अनुदान पनि प्राप्त गरेका छन । अहिले उनको खोरमा एउटा ७५% को बोयर बोका (व्याडको लागि ) सङ्गै १० वटा पाठापाठी २९ वटा बाख्रा रहेका छन ।
बाख्रा पालन व्यवसायमा रमाईरहेका पुनले आफूलाई यसमै सन्तुष्टि मिलेको बताउछन् । उनले भने गाउँ घर मै आफ्नै देशमा बस्न पाउने अनि स्वतन्त्र ढंगले काम गर्न सकिने, आफैं मालिक बन्न पाउने जति मेहेनेत गरे पनि आफूलाई नै फाइदा हुने भएकोले बाख्रा पालनमा थप चासो बढेको उनले सुनाए ।

अहिलेसम्म करिब ८० हजार आम्दानी गरेका पुनले सुरुवाती समयमा बाख्राबाट तत्काल आम्दानी नभए पनि बिस्तारै त्यसबाट मनग्गे आम्दानी हुने बताउँछन् । नारायण बहादुर पुन मगरका छोरा भुप बहादुर पुनको १० जनाको परिवार छ । सन्तानका बुवा बनी सकेका पुन अहिले कोचिबाङमै बाख्रा पालन गरि जिविकोपार्जन गरि रहेका छन ।

पुनले थप व्यवसाय बढाउन आर्थिकको कमि भएकोले नगरपालिकमार्फत नेपाल बैंकबाट प्राप्त हुने सहुलियत कर्जाको लागि पनि फारम भरेर सबै प्रक्रिया पूरा गरेको तर आर्थिक वर्ष बित्दा पनि अहिलेसम्म सहुलियत कर्जा नपाएको गुनासो गरे ! उनले भन्छन् गर्नु पर्ने सबै काम गरेको छु गतवर्ष पौष महिनासम्म हुन्छ भनेर आशा देखाइयो तर नगरपालिकाले खासै चासो नदेखाएको पुनले बताए । उनले थप कुरा जोड्दै सरोकारवाला निकायले यस विषयमा विशेष ध्यान दिए आफू जस्ता कृषकहरूलाई राहत महसुस हुने र प्रोत्साहन पनि हुने पुनले बताए ।

प्रतिकृया दिनुहोस्