फरकपोस्ट संवाददाताअसोज २१ काठमाडौं

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ले एमसीसीको प्रसारण लाइन सबस्टेसनका लागि नुवाकोटमा अधिकरण गरिएको ३८४ रोपनी जग्गा कब्जा गरेको छ ।
नुवाकोट जिल्ला बेल्लकोटगढी नगरपालिका वडा नम्बर ७ रातामाटेमा प्रसारण लाइन सबस्टेसनका लागि अधिकरण गरेको ३८४ रोपनी जग्गामा नेपाल कम्युनिस्ट पार्टीको ब्यानरसहित झन्डा गाडी कब्जा गरिएको नेकपाले जनाएको छ ।
नेकपा नुवाकोटले स्थानीय जनताको उपस्थितिमा उक्त जग्गामै झन्डा गाडी विज्ञप्ति टाँगेर कब्जा गरेको जानकारी दिएको हो । पार्टीले एमसीसीविरुद्ध प्रदर्शनसहित कोणसभा पनि गरेको छ ।
विरोध प्रदर्शन सहित गरिएको कोणसभामा उक्त जग्गा पार्टीले कब्जा गरेको घोषणा गर्दै सोही जग्गा जनतालाई पूर्ण रुपमा उपभोग गर्न र एमसीसीलाई कुनै पनि हालतमा नदिन नेकपाले अनुरोध गरेको छ ।