News Portal

स्वर्गद्वारी नगरपालिकाले आफैंले हटाएका कर्मचारी पुनः बहाली गर्‍यो

फरकपोस्ट संवाददातासाउन १३ स्वर्गद्वारी
९०१ पटक
साउन १३ स्वर्गद्वारी

स्वर्गद्वारी नगरपालिका प्यूठानले केही दिनअगाडि आफैंले हटाएका करारका कर्मचारीमध्ये केहीलाई पुन:बहाली गरेको छ ।
हटाइएका मध्येबाट १४ जना कर्मचारीलाई पुन: बहाल गरेको नगर प्रमुख टेक प्रसाद भण्डारीले बताउनुभयो । बिहीबार कार्यपालिका बैठक बसेर कर्मचारीलाई पुन: बहाली गरेको नगर प्रमुखले जानकारी दिनुभयो ।

नगरपालिकाले केही दिनअघि ३४ जना करारका कर्मचारी हटाएको थियो । पुनः बहाली गरिएका कर्मचारीहरु.

कर्मचारी पुनः बहाली गरेपछि नगरप्रमुख टेक प्रसाद भण्डारीले कर्मचारी हटाइ पुनः बहाली गरेका विषयमा दिएको स्पस्टिकरणको पूर्णपाठ !

करारका कर्मचारी विषयक यथार्थता र जनतामा छरिएको भ्रम

यहि असार ३२ गते बसेको स्वर्गद्वारी नगरपालिकाको कार्यपालिका बैठकले अन्य विविध निर्णयसङ्गै ३४ जना करारका कर्मचारीहरूको म्याद नथप्ने निर्णय गरेको सम्पूर्ण नागरिकमा जानकारी नै छ । सरकारी क्षेत्रमा रहेर सेवा सुविधा लिएर जनताको सेवामा खटिएका कर्मचारीहरूको जिम्मेवारी र परिधि के कती हो त्यो कर्मचारी स्वयंलाई पनि जानकारी हुनुपर्छ र होला पनि ।
चुनावको समयमा कुनै पाटीको झण्डा बोकेर प्रचार प्रसारको अभियानमा खटिने , राजनैतिक दम्भ र संरक्षणका आधारमा सेवाग्राहीलाई दुख दिने , रूखो तथा अभद्र स्वभाव देखाउने , सरकारी मोटरसाइकल तथा अन्य साधनको दुरुपयोग गर्ने , सेवाको समय तथा यस्ता समयमा सम्बन्धित कार्यालय परिसरमा अनैतिक कार्यहरू गर्ने , स्वर्गद्वारी नगरपालिकाको समृद्धि र सुशासनभन्दा निश्चित व्यक्ति र संस्थामा बढी ध्यान दिएर सोही अनुरूप कार्य गर्ने यस्ता विविध शैली र नियम विपरीत मनोमानी ढङ्गले कार्य गर्ने जस्ता धेरै कारणहरू जनताका गुनासाहरू तथा हाम्रो भोगाइका कार्यसम्पादनका आधारमा केही कर्मचारी र केही अनावश्यक क्षेत्रका कर्मचारीहरूलाई म्याद थपिएन ।

फेरि साउन ११ गते बसेको कार्यपालिका बैठकबाट तिनैमध्य १४ जना कर्मचारीलाई काममा फर्काईयो । काममा फर्काउनुका आफ्नै कारणहरू र आधारहरू छन । तर केही व्यक्तिहरूबाट श्रेयको अनुकुलतालाई हेरेर जनतामा भ्रम फैलाउने र गलत प्रचारप्रसार गर्ने गरिएको पाईएको छ ।
नेकपा एमालेको ध्यानाकर्षण पत्रपछि यसो गरियो भन्नू गलत हो । एमालेको ध्यानाकर्षण पत्रको दबाब अनुसार कर्मचारीहरू फर्काइएको होइन यो कुरा स्पष्ट पार्न चाहान्छुँ ।

कर्मचारीहरू फ़ेरि सेवामा फर्काउनुका कारणहरूलाई यसप्रकारका आधारहरूबाट स्पष्ट पार्न चाहान्छौं ।
– निवर्तमान प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले गरेको कर्मचारीहरूको कार्यसम्पादन मुल्यांकन ।

(कर्मचारीहरूको म्याद नथपिसकेपछी निवर्तमान प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले कार्यसम्पादन मुल्यांकनको विवरण प्रस्तुत गर्नु भयो । जसमा कर्मचारीहरूलाई कार्यसम्पादन मुल्यांकनको नतिजामा ८९,९०,९१ अङ्कको वरिपरि अङ्क प्रदान गरिएको छ । जहाँ ८० अङ्कभन्दा माथी अङ्क प्राप्त गरेका कर्मचारीहरूलाई अन्य विशेष कारण बाहेक हटाउन मिल्दैन । कुन कुन आधारमा मुल्यांकन गर्नु भयो त्यो भण्डारीलाई अवगत होला )

– म्याद नथपिएका कर्मचारीहरूको निवेदन र अन्य विवरण सहित गल्तीको महसुस ।
( यदि गल्ती भएको भए हामीलाई सल्लाह सुझाव दिनु होस अब त्यस्ता गल्ती दोहिराउने छैनौं । मौखिक भेटघाट तथा अन्तक्रिया- कर्मचारीहरू )
-वर्तमान प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम गैरेद्वारा आएका सल्लाह सुझाव र अत्यावश्यकता सम्बन्धित कुराहरू ।
केही विज्ञहरूसङ्गको अन्तरक्रिया र प्रक्रिया सम्बन्धि र केन्द्रिय तथा प्रदेशबाट प्राप्त पत्रहरू ।

यी यस्ता विविध आधारहरूलाई मध्यनजर गर्दै १४ जना कर्मचारीहरूको म्याद थपिएको हो । तर नेकपा एमालेको ध्यानाकर्षण पत्र अनि दबाबको कुनै भुमिका छैन । फेरि पनि स्पष्ट पार्न चाहान्छुँ ।
जता बाघ करायो उतै बाख्रो हरायो भनेर अनुमानित गर्नु स्वभाविक पनि रहेको छ ।
समृद्ध र सुशासन सहितको स्वर्गद्वारी नगरपालिका निर्माणमा सबैको साथ रहने कुरामा विश्वस्त छौँ ।
टेक प्रसाद भण्डारी
(नगरप्रमुख)
स्वर्गद्वारी नगरपालिका प्यूठान

प्रतिकृया दिनुहोस्