
विवादित बनेपछि राजिनामा दिएका जनार्दन अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।
उनलाई आजै शपथ ग्रहण गराउने तयारी गरिएको छ । माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार शर्माले आजै साँझ अर्थमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेछ छ । समय भने तय भइनसकेको मल्लले बताए ।
आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए । तर यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाउँदै शर्मालाई क्लिन चिट दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा पनि शर्मालाई नै फर्काउने पक्षमा थिए । शनिवारसम्म जाँदिन भनेका भनेका शर्मालाई प्रचण्डले मनाएको बुझिएको छ । माओवादी भित्र शर्मा र वर्षमान पुनबीच महासचिवका लागि ठूलो रस्साकस्सी छ र एकले अर्काेलाई कुनै ठाउँ थन्क्याउन पाए आफ्ना लागि सहज हुने विश्वासमा काम गरिरहेका छन ।