
नेपालकाै सात धाम मध्येकाे एक ऐतिहासिक तथा प्रसिद्ध धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा आज बिहानैदेखि भक्तजनहरुकाे घुँइचो लागेको छ । स्वर्गद्वारी महाप्रभु बालतपस्विको जन्म जयन्तीकाे अवसरमा यहाँ दर्शन गर्ने भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ ।
श्रावण पुत्रदा एकादशिका दिन वि.सं. १९१६ सालमा रोल्पा जिल्लाको रुन्टी गाउँमा १०८ स्वर्गद्वारी महाप्रभु बालतपस्वि नारायण गौतमको जन्म भएको थियो । महाप्रभुको आज १ सय ६३ औं जन्मजयन्त्री स्वर्गद्वारी मन्दिरमा भव्य रुपमा मनाइदैछ ।
महाप्रभु वि.स. १९५१ मा स्वर्गद्वारीमा आएपछि बेदका मन्त्रद्वारा अग्नी प्रज्वलित गरी १९५२ बैशाख पुर्णिमा देखी उहाँले अखण्ड महायज्ञ सुरु गर्नुभएको किंबदन्ती रहेकाे छ ।
त्यसबेलादेखी विश्व शान्तिका लागि संचालीत अखण्ड यज्ञको अग्नी हालसम्म पनि निरन्तर रुपमा बलीरहेको छ । महाप्रभुको जन्मदिनको अवसरमा आज बिहानैदेखी भोली बिहान सम्मका लागि चौबिस घण्टा अखण्ड किर्तन संचालन भैरहेको स्वर्गद्वारी आश्रम प्यूठानले जानकारी दिएकाे छ ।
पशुपति नाथको मन्दिरमा शिवजीको मात्र पुजा पाठ गरीन्छ भने स्वर्गद्वारीमा हिन्दुहरुका सम्पूर्ण पूजा, अग्नीको हवन गर्ने बिधिबाट यहाँ विश्वमा हिन्दुहरुको संस्कार अनुसार चलेको तिर्थाटन स्वर्गद्वारीमा मात्र गरीदै आएको छ ।
स्वर्गद्वारी नगरपालिकामा अवस्थित स्वर्गद्वारी आश्रम समुद्री सतहदेखी करिव ७ हजार फिट उचाइमा पर्दछ । यहाँ आई पूजापाठ गरी मन्दिर अवलोकन गर्नाले मनले चिताएको पुग्ने र स्वर्गमा पुग्न सकिने धार्मिक विश्वास रहँदै आएको छ ।
जिल्लाकै अग्लो स्थान भएकाले यहाँ सिरसिरे आनन्दको बतास चलीरहने र यहाँबाट उच्च हिमश्रृंखला देखिने भएकाले स्वर्गद्वारी रमणीय पर्यटकिय तिर्थस्थलका रुपमा परिचित रहेको छ ।
पहाडको टाकुराबाट सेतै फुलेका उच्च हिमश्रृंखला देख्न सकिन्छ भने तलतीर समथर ठाउँमा कुहिरोले छपक्कै ढाकेको आनन्द पनि यहाँबाट देख्न सकिन्छ ।