News Portal

विदेशबाट ल्याएको मोबाइलमा तत्काल कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन

फरकपोस्ट संवाददातापुस १५ काठमाण्डाैं
३३८ पटक
पुस १५ काठमाण्डाैं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिएका छन्।प्रधानमन्त्री प्रचण्डले शुक्रबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट फर्कँदा ल्याउन पाउने मोबाइलका सम्बन्धमा गरिएको यसअघिको सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले नयाँ लागू गर्न खोजिएको प्रावधानमा कडाइ नगर्न र पुरानै चलिरहेको प्रक्रियामा रहन निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। विदेशबाट एक थान मोबाइल ल्याउँदा सरकारले १८ प्रतिशतसम्म कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीले विरोध गरिरहेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले भन्सार छलीको मोबाइल नियन्त्रण गर्न भन्दै आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयन गर्ने समयसीमा तय गरेको थियो।

सो व्यवस्था लागू भए विदेशबाट फर्किने क्रममा ल्याइएको उपहारका रूपमा एकभन्दा बढी मोबाइल फोन ल्याए १८ प्रतिशतसम्म भन्सार लाग्ने र तेस्रो मोबाइल ल्याएमा भन्सार विभागले जफत गर्नेछ। मोबाइल सेटको गैरकानुनी आयात, बिक्री–वितरण तथा प्रयोग निरुत्साहित गर्न खोज्दा त्यसको विरोध सुरु भएपछि प्रधानमन्त्रीले चासो व्यक्त गरेका हुन्।

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री–वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्ने भनिएको थियो।

विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका मोबाइल प्रणालीमा दर्ता नभएका वा नेपालमा गत भदौभन्दा अगाडि प्रयोगमा नरहेका मोबाइल सेटको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणले आग्रह गरेको थियो । रासस

प्रतिकृया दिनुहोस्