News Portal

पूर्व कप्तान सन्दिप लामिछाने राष्ट्रिय किक्रेट टीममा समावेश

फरकपोस्ट संवाददातामाघ १९ काठमाडौँ
३६० पटक
माघ १९ काठमाडौँ

पूर्व कप्तान सन्दीप लामिछाने बलात्कार अभियोग पछि साढे तीन महिना निलम्बनमा परेर बुधबार फुकुवा भए सङ्गै राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् ।

राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले टिममा सन्दीपको आवश्यकता देखेर नेपालमा हुने आसन्न चार वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेलका लागि टिममा समावेश गर्ने निर्णय भएको बताए।

सन्दीप हाम्रो योजनामा रहेको क्रिकेटर हो । उनलाई आज साँझदेखि क्याम्पमा सहभागी हुन भनेका छौँ। सन्दीपको क्षमताको बारेमा त सायद कसैलाई शंका हुने छैन । फिटनेस र फिजियो चाहीँ हेर्नुपर्छ भन्ने चौधरीको भनाई छ।

छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी सङ्गै केही खेलाडीसँगै कीर्तिपुरमा पुगेर अभ्यास गरेका छन् ।

बिहीबार राष्ट्रिय टिमको ‘रेष्ट डे’ भएकाले शुक्रबार मात्र उनको फिटनेस परीक्षण हुनेछ । ‘रेष्ट डे’ भए पनि केही खेलाडीले भने कीर्तिपुरमा प्रशिक्षण गरेका थिए, जसमा सन्दीप पनि थिए ।

‘फिटनेस ट्रेनर र फिजियोको रिपोर्ट सकारात्मक आए पछि उनले नियमित प्रशिक्षण सुरु गर्नेछन्,’ क्यानका क्रिकेट म्यानेजर विनोद दासले बताएका छन् ।

नाबालिग बलात्कार आरोप लागेपछि सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको थियो । त्यसको भोलि पल्टै क्यानले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको हो । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध बेरित निवेदन दिएका सन्दीप उच्च अदालतको आदेशपछि मंसिर २९ गते धरौटीमा रिहा भएका थिए ।

जघन्य फौजदारी अभियोग लागेको र अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा पनि क्यानले उनको निलम्बन फुकुवा मात्र गरेन राष्ट्रिय टिममै समावेश गरेको छ ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ । यो शृंखला फागुन २ गतेदेखि सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्