News Portal

लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

फरकपोस्ट संवाददातामाघ २८ दाङ
२९६ पटक
माघ २८ दाङ

लुम्विनी प्रदेश सरकारका  बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । माओवादी केन्द्रका नेतासमेत रहेकी मन्त्री केसीले शनिबार विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाएकी मुख्यमन्त्री निकट स्रोतले बताएको छ । माओवादी स्रोतले पनि उनले राजीनामा दिएको पुष्टि गरेको छ ।

माओवादी स्रोतका अनुसार उनलाई राजीनामा गर्न लगाइएको हो । २५ माघमा भएको राष्ट्रियसभा उपनर्विाचनमा सत्ता गठबन्धनका उम्मेदवार बनेका एमालेका कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछ उनीमाथि माओवादीले छानबिन गरेको थियो ।

केसी निकट स्रोतका अनुसार मन्त्रालयको भागबण्डाको विषयलाई लिएर मन्त्री केसीले राजीनामा दिएकी हुन् । मन्त्री बनेकी केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेकी थिइन् । तर उनलाई आन्तरिक मामिला, कानुन मन्त्री बनाउने तयारी भएपछि राजीनामा बुझाएको उनीनिकट स्रोतको दावी छ ।

भौतिक पूर्वाधार मन्त्रालय माओवादीकै इन्द्रजित थारुलाई दिने मुख्यमन्त्रीको तयारी रहेकाे स्राेतले बताएकाे छ । माओवादीका नेता एवं प्रदेश सभा सदस्य इन्द्रजित थारुले भने राजीनामाको विषय पार्टीमा जानकारी नआएको प्रतिक्रिया दिए । मुख्यमन्त्री गिरीले आइतबार मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस्