News Portal

एउटै घटनाका अभियुक्त सांसदलाई माफी, अर्का अभियुक्त जेलमा

फरकपोस्ट संवाददाताफाल्गुन ७ काठमाडौँ
२११ पटक
फाल्गुन ७ काठमाडौँ

१३ वर्षअघिको आगजनी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी आइतबार कैलाली कारागारबाट रिहा भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा आम माफी दिएपछि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट निर्वाचित सांसद चौधरी रिहा भएका हुन् ।

१९ माघमा बाँकेको कोहलपुरबाट पक्राउ परेर १७ दिन थुनामा बसेका चौधरी रिहा भएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेता कार्यकर्ताले कैलाली कारागार पुगेर स्वागत गरेका छन् भने अबिर र मालाले चौधरीलाई बधाई समेत दिए ।

आफ्ना सांसद अरूण कुमार चौधरीले आम माफी पाएर कारागारबाट छुटे पछि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ता खुसियाली मनाइ रहँदा सोही मुद्दाका अर्का अभियुक्त वीरबहादुर चौधरी भने कारागार छन् ।

कैलाली प्रहरीले वीरबहादुरलाई पक्राउ गरेपछि मात्र उक्त मुद्दामा सांसद चौधरीलाई पनि अदालतले दोषी ठहर गरेको खुलेको थियो । तर एउटै मुद्दामा ६ महिना कैद र ८ लाख १९ हजार बिगो तोकिएका मध्येका अभियुक्त सांसद चौधरीले आममाफी पाउँदा अर्का अभियुक्त भने थुनामै छन् ।

करीब १० वर्षसम्म गुपचुप रहेको यो फैसलालाई टेक्दै कैलाली प्रहरीले अभियुक्त मध्येका वीरबहादुरलाई पक्राउ गरेपछि सांसद चौधरी पनि दोषी ठहर भएको खुलेको थियो ।

पक्राउ परेर कारागार चलान भएपछि चौधरीले आफूलाई सुनवाइको मौका समेत नदिएको भन्दै म्याद बदर गर्न माग गर्दै २२ माघमा उच्च अदालत दिपयालमा रिट निवेदन पेश गरेका थिए । २७ माघमा बन्दी प्रत्यक्षीकरण सम्बन्धी उत्प्रेषणको रिट पनि दायर गरे तर दुवै रिटमा अन्तिम सुनवाइ नहुदै उनी रिहा भएका छन् ।

प्रतिकृया दिनुहोस्