News Portal

१५ दिनदेखि प्रतिष्ठानमा शव, दोषीलाई पक्राउ नगर्दासम्म नबुझ्ने परिवारको अडान

फरकपोस्ट संवाददाताफागुन १८ दाङ
११८८ पटक
फागुन १८ दाङ

रोल्पा जिल्ला रन्टिगढी गाउँपालिका–२ निवासी १९ बर्षीय राजेन्द्र विकको मृत्यु भएको १५ दिन भैसक्दा समेत परिवारले उनको शव बुझन मानेको छैन । जसले गर्दा शव १५ दिनदेखि घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा रहेका छ ।

प्रहरीले किटानी जाहेरी लिन नमानेको र घट्नालाई गम्भीर रुपमा नलिएर दोशीलाई पक्राउ गर्न चासो नदिएको भन्दै मृतकको परिवारले शव बुझ्न मानेको छैन । गत माघ महिनाको २९ गते रुन्टिगढी गाउँपालिकाकै वडा नं. १ स्थीत दलवीर विकको कान्छो छोराको विहेमा सहभागी हुन गएका राजेन्द्र फागुन १ गते वडा नं. १ कै राम्ली सामुदायिक वनको चिप्ले भीरको खोचमा मृत फेला परेका थिए । उनी गाउँकै २०/२५ घरका युवाहरुसँगसँगै विहे खान गएका थिए ।

पीडित परिवारले सोमवार घोराहीमा पत्रकार सम्मेलन गरेर घट्नामा संलग्न भएको आंशकामा केही व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालय होलेरीमा किटानी जाहेरी दिदा समेत प्रहरीले लिन नमानेको मृतकका बुबा रुपलाल विकले बताएका छन् । ‘मृत भेटिएका राजेन्द्र भीरबाट लडेको जस्तो कुनै प्रमाण फेला परेको छैन, टाउको तथा शरीरभरी घाउ छन् ।

जमिनमा पनि कतै धस्किएको छैन’,पत्रकार सम्मेलनमा मृतकका बुबा रुपलालले भने,‘ अन्य ठाउँमा पनि रगत देखिदैन । जुत्ता खसेको ठाउँबाट घट्नास्थलको दुरी पौने घण्टाको छ । भिरबाट खस्दा लगाएको ट्राउजर केही भएको छैन । जसले गर्दा छोराको भीरबाट खसेर मृत्यु नभएको र हत्या नै भएको हाम्रो दावी छ ।’

मृतकका बुबा रुपलालले आफ्नो छोराको हत्या गरेर फालेको र घट्नाका दोषीहरुलाई उन्मुक्ति दिने गरी प्रहरीले घट्नाको अनुसन्धानमा चासो नदिएको पीडित परिवारको आरोप छ । प्रहरीले उक्त घट्नामा संलग्न भएको आरोपमा सुवास विकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुवासले प्रहरी बयानका क्रममा राजेन्द्रसँगै विहे खाएर फर्किने क्रममा तानातान गर्ने क्रममा भीरबाट खसेर राजेन्द्रको मृत्यु भएको प्रहरीमा बयान दिएका छन् । तर मृतकका परिवारलाई त्यो कुरा चित्त बुझेको छैन ।

बिहेमा राजेन्द्रले साथीहरुसँगै रक्सीपनि खाएका थिए । ‘सुवासले मृतक राजेन्द्रले लगाएका शरिरको माथिल्लो भागको कपडा घरमा लगेर राखिदिएका छन् । तर घट्ना बारेमा घरमा कसैलाई जानकारी दिदैनन्’,मृतकका बुुवाले भने,‘सुवासकै बुबाले जीतबहादुर विकले मृतक राजेन्द्रको जुत्ता घरमा लगेर राख्छन । र, भोली पल्ट आफ्नो छोरासँगै जुत्ता पठाईदिने लगायतका कार्यले उक्त घट्नामा उनीहरुको संंलग्नता भएको आशंका उत्पन्न भएको छ ।’

घट्नामा अन्य व्यक्तिको पनि सलग्नता भएको भन्दै पीडितका बुबा रुपलाल जाहेरी दिनका लागि फागुनको ४ गते इलाका प्रहरी कार्यालय होलेरी पुगेपनि आफुलाई जाहेरी दिनबाट प्रहरीले रोकेको पत्रकार सम्मेलनमा उनले बताए । ‘व्यक्तिगतसँगै राजनीतिक रिसिवीका कारण योजनावद्ध रुपमा छोराको हत्या भएको छ । त्यी व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ भन्ने मेरो माग छ’,पत्रकार सम्मेलनमा रुपलालले भने,‘तर प्रहरीले उनीहरु विरुद्ध किटानी जाहेरी लिनै मानेन । बरु सुवास विकका विरुद्ध मात्रै मलाई किटानी जाहेरी दिन बाध्य बनायो ।’ रुपलालले उनीहरु विरुद्ध किटानी जाहरी नलिने र घट्नालाई संलग्नलाई उन्मुक्ति दिन प्रहरी नै लागेको उनी बताउँछन ।

प्रहरीले घट्नामा संलग्न भएको आशंका गरिएका व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान नगर्दासम्म आफुहरुले छोराको शव नबुझ्ने समेत बताएका छन् । उनले पत्रकार सम्मेलनमा स्थानीय झवेन्द्र पुन, ठगेन्द्र पुन, मानदेव पुन, सन्तोष विक,सुवास विक, जीतबहादुर विकलगायतको संलग्नतामा आफ्नो छोराको हत्या भएको हुन सक्ने आशंका भएको बताएका छन । घट्ना बारेमा सत्यतथ्य जाँचका लागि पीडितले राष्ट्रिय मानवअधिकार आयोग, इन्सेकमा समेत निवेदन दिएका छन् । गोरक्ष दैनिकको सहयोगमा 

प्रतिकृया दिनुहोस्