News Portal

राप्रपाले राष्ट्रपतिको चुनावमा मतदान नगर्ने निर्णय

फरकपोस्ट संवाददाताफाल्गुन २४ काठमाडौँ
१८३ पटक
फाल्गुन २४ काठमाडौँ

राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘राप्रपा राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने, निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको छ,’ उनले भने ।

राप्रपा केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा भोट हाल्न नहुने मत बलियो भएपछि यो निर्णय आएको हो । राप्रपाले राजसंस्था पुन:स्थापनाको माग गर्दै आएको छ । राजसंस्था पुन:स्थापना मुख्य राजनीतिक ऐजेन्डा बनाउने दलले गणतन्त्रको प्रतीक मानिने राष्ट्रपतिमा मतदान गर्नु राजनीतिक कार्यदिशाभन्दा फरक हुने मत पार्टीभित्र प्रभावी भएपछि यो निर्णय आएको हो ।

यसअघि २०७४ सालमा भएको राष्ट्रपति निर्वाचनमा राप्रपाले एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई मत हालेको थियो । त्यसबेला संघीय संसद्‌मा राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन एक जनामात्रै सांसद थिए । त्यतिबेला भण्डारीलाई मत दिनुको कारणबारे विज्ञप्ति नै निकालेको थियो । तत्कालीन प्रवक्ता भुवन पाठकद्वारा जारी विज्ञप्तिमा लेखिएको थियो, ‘वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै बृहत्तर राष्ट्रिय हित, एकता र प्रजातन्त्रको संरक्षण संवर्द्धनको साथै सबै पक्षहरुको बीच संयोजनकारी भूमिकाको अपेक्षा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई मतदान गर्ने निर्णय गरेको छ ।’

नयाँ राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम छ । राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाहरूका सांसद मतदाता हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति निर्वाचनका लागि मतदान संघीय संसद् भवन नयाँ बानेश्वरमा हुनेछ । राप्रपाको मतभार २ हजार ४५० रहेको छ । संघमा १४ र प्रदेशमा २८ सांसद छन् ।

प्रतिकृया दिनुहोस्