News Portal

पाइलटलाई पखाला चलेपछि नेपाल वायुसेवा निगमको दुबई उडान रद्द

५ सय ४३ यात्रु अलपत्र

फरकपोस्ट संवाददाताचैत १९ काठमाडौं
२३१ पटक
चैत १९ काठमाडौं

नेपाल वायुसेवा निगमको वाइडबडी विमान उड्नै लाग्दा को-पालटलाई पखाला चलेपछि शनिबार राति काठमाडौं–दुबई–काठमाडौंको उडान रद्द हुँदा दुवैतर्फ कम्तीमा ५ सय ४३ यात्रु अलपत्र परेका छन् । निगमको व्यवस्थापनले क्याप्टेनसँगै उड्ने अर्को जगेडा को-पाइलट व्यवस्था गर्न नसक्दा शनिबार राति १२ बजे दुबईका लागि तय गरिएको उडान नम्बर– आरए२२९ बाट उड्न बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रुलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरुमा राखिएको छ ।

अन्तिम समयमा यात्रुहरुले जहाज नउडाएकोमा विमानस्थलमा नाराबाजी गर्दै निगम व्यवस्थापनको विरोध गरेका थिए ।
निगम स्रोतका अनुसार, दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि तय भएको यसै विमानको उडान (आरए २३०) पनि रद्द भएको छ । उक्त उडानबाट काठमाडौं आउने यात्रुलाई पनि दुबईमा रहेको निगमको स्टेसनले निगमकै खर्चमा होटलमा राखेको छ । निगम प्रवक्ता अर्चना खड्का अनुसार, शनिबार राति ११:३० बजेको रद्द उडान आरए २२९ लाई आइतबार बिहान ११ बजेका लागि राखिएको छ । काठमाडौं र दुबईमा होटलमा कति यात्रु राखिएका छन् भन्नेबारे आइतबार बिहान १० बजेसम्म विमानस्थलमा रहेका निगमका स्टेसनहरुले एकिन संख्या रिपोर्टिङ गरिनसकेको प्रवक्ता खड्काले बताइन् ।

शनिबार राति साढे १० बजे दिल्लीबाट फर्केको निगमको मकालु नेपाली नाम भएको वाइडबडी विमानलाई दुबई उडानका लागि राखिएको थियो । त्यो जहाज दिल्लीबाट उडाएर ल्याउने क्याप्टेन योगेश हिराचन र को-पाइलट गोपालसिंह विष्ट नै दुबई जानुपर्ने तालिका थियो । तर, जहाजमा उपलब्ध हुने खानाले ‘फुड प्वाइजन’का कारण पखाला लागेपछि को-पाइलट विष्टले ‘सिक रिपोर्ट’ गरेका थिए ।
अस्वस्थता कारण कोपाइलट विष्ट जान नसक्ने भएपछि निगमको फ्लाइट अपरेसनले बिदामा रहेका पाइलटको खोजी गर्दा एक जना क्याप्टेनलाई दुबई उडानका लागि अनुरोध गरेका थिए । तर, ती क्याप्टेनले मदिरा सेवन गरिसकेकाले आफू उड्न नसक्ने जानकारी दिएपछि निगमको काठमाडौं स्टेसनले दुबई उडान रद्द गरेको उडानमा संलग्न एक कर्मचारीले बताए ।

निगमसँग दुइटा वाइडबडी विमान छन् । यिनका लागि ६ जना को-पाइलट र ८ जना क्याप्टेन छन् । यो संख्या पर्याप्त होइन । ‘केही पाइलट तालिममा, केही विदेशका स्टेसनमा नाइट स्टपमा, केही अर्को जहाजमा भएकाले शनिबार को-पाइलट नै पाइएन,’ वाइडबडी विमानका एक अर्को पाइलटले भने, ‘हाम्रो व्यवस्थापनले १०/१२ जना को-पाइलट तयार पारिसक्नुपर्ने तर राजनीतिक कार्यकर्ताले भरिएको व्यवस्थापनलाई उडान व्यवस्थापनको ज्ञान नै छैन । कता आर्थिक लाभ हुन्छ, त्यसैमा ध्यान छ । निगमको जर्जर अवस्था कसलाई सुनाउनु । हामी वाक्कदिक्क भइसक्यौं ।’ कान्तिपुर

प्रतिकृया दिनुहोस्