News Portal

नेपाल प्रहरीले वैशाखदेखि असारसम्म तलब नपाउने !

बजेट अभावका कारण सबै बाकी तलब साउनमा दिइने !

फरकपोस्ट संवाददाताबैशाख ८ काठमाडौं
५०७ पटक
बैशाख ८ काठमाडौं

नेपाल प्रहरीले यो वैशाखदेखि असारसम्म तलब नपाउने सम्भावना बढेर गएको छ । बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई तलब खुवाउन समस्या हुने भएको हो । उनीहरूलाई एकैपटक आउँदो साउनमा तलब दिइने सम्भावना रहेको छ । त्यति बेला बाँकी रहेको महिनाको समेत तलब दिइनेछ ।

चालु आर्थिक वर्षमा प्रहरी कर्मचारीको तलब १५ प्रतिशत बढाइएको थियो । तर, बढेको रकमबराबरको बजेट नआएकाले समस्या भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
चैत महिनाकै पनि सबै प्रहरीले तलब सुविधा पाएका छैनन् । प्रहरी प्रवक्ता एसएसपी दीपेन्द्र जिसीले तलब अभावबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको बताए ।

उनले भने, “पछिल्लो समय तलब पनि बढ्यो । त्योसँगै विभिन्न नयाँ पद सिर्जना भए । नयाँ पदसँगै उनीहरूको तलब सुविधा पनि बढ्यो । तर, बजेट पुरानै भएकाले तलब खुवाउन समस्या भएको हो । तर, सरकारबाट रकम निकासी भए समस्या हुँदैन ।”
प्रहरीमा हाल ७९ हजार ५०० बढी दरबन्दी छ । ७७ हजारजना कार्यरत छन् । पछिल्लो समय सरकारका सबै सरकारी निकायमा २० प्रतिशत खर्च कटौतीको प्रभाव पनि प्रहरीमा परेको छ ।

प्रहरी अधिकारीहरूका अनुसार खर्च कटौतीका कारण तालिमलगायत महत्त्वपूर्ण कामका लागि समेत बजेट अभाव हुन थालेको छ ।

प्रहरीमा गत वर्ष साउन १ गतेदखि नयाँ तलब स्केल लागु भएको थियो । हाल प्रहरी आईजीपीको तलब ६६ हजार ८६० रुपैयाँ छ । सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४८० रुपैयाँ तलब पाउँछन् ।

बजेट अभावले अरू सरकारी निकायमा पनि तलब सुविधा दिन समस्या भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्