
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले सरकारसमक्ष विभिन्न माग राख्दै आन्दोलनको सुरुवात गरेका छन् । उनी शुक्रबारदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसेका छन् । धर्नाअघि माइतीघरबाट सुरु भएको र्याली नयाँ बानेश्वरसम्म पुगेको थियो ।
महावीरको आन्दोलनमा थुप्रै युवाहरूको साथ रहेको छ ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ बनाउनुपर्नेसहित चार माग राखेर उनले धर्ना सुरु गरेका हुन् । अर्थतन्त्र सुधार गरी युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्ने उनको माग रहेको छ ।
महावीर पुनले नेपालका प्रतिभाशाली विद्यार्थी तथा भावी सन्ततिका लागि आन्दोलनको आवश्यक रहेकोले आन्दोलन गर्नुपरेको बताए । आविष्कार गर्ने, नयाँ प्रवर्द्धन गर्ने काम गर्न नसके मुलुकको अर्थतन्त्रलाई सुधार गर्न नसकिने र अर्थतन्त्र सुधार नभए नेपाली युवा विदेश जान बाध्य हुने उनले बताए ।
सरकारले विकास बजेटको कम्तीमा एक प्रतिशत यस क्षेत्रमा छुट्याउनुपर्ने र अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने उनको भनाइ छ ।