News Portal

सगरमाथाको २७औं आरोहण गरे पासाङ दावा शेर्पा

२८ औं पटकको आरोहणका लागि कामीरिता मंगलबार पुन: सगरमाथा चढ्दै

फरकपोस्ट संवाददाताजेठ ८ सोलुखुम्बु
२२८ पटक
जेठ ८ सोलुखुम्बु

सोलुखुम्बु जिल्लाको पाङ्बोचेका ४६ वर्षीय पासाङ दावा शेर्पाले सर्वाधिक सगरमाथा आरोहण गर्ने नेपाली आरोही कामीरिता शेर्पाकै २७औं पटकको विश्वकीर्तिमान बराबरी गरेका छन् ।

इम्याजिन नेपाल ट्रेक एन्ड एक्सीपिडिसन प्रालिका कार्यकारी निर्देशक दावा ग्यालजेन शेर्पाका अनुसार पासाङ दावा शेर्पाले सोमबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् । यो आरोहणसँगै उनी कामीरिता शेर्पाकै हाराहारीमा सबैभन्दा बढी पटक विश्वकै अग्लो चुचुरोमा आरोहण गर्ने विश्वकै दोस्रो व्यक्ति बनेका छन् ।

‘पासाङ दावा चिनियाँ आरोही लिएर सोमबार बिहान ८:२५ बजे २७औं पटक चुचुरोमा पुगेका थिए,’ कार्यकारी निर्देशक शेर्पाले भने, ‘उहाँ अहिले चौथो शिविरमा फर्किसक्नु भएको छ । पर्सि काठमाडौं ओर्लिने कार्यक्रम रहेको छ ।’

विश्वभर आरोहीमाझ पादावा उपनामले चिनिने पासाङ दावाले यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण सिजनमै दुई पटक सगरमाथा आरोहण गरेका हुन् । यसअघि पादावा वैशाख ३१ गते चुचुरोमा पुगेका थिए । त्यो उनको २६औं आरोहण थियो

यसैबीच आफ्नै जिल्लावासी पासाङ दावा शेर्पाको रेकर्ड बराबरीमा पुगेपछि गएको बधुबार २७औं पटक सगरमाथा आरोहण गरिसकेका कीर्तिमानी आरोही कामीरिता २८औं पटकको रेकर्ड बनाउन यसै सिजनमा दोस्रो पटक सगरमाथा आरोहण गर्दैछन् । उनी आबद्ध कम्पनी सेभन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, कामीरिता मंगलबार सगरमाथा चुचुरो पुग्दैछन् । ‘आज (सोमबार) राति कामीरिता २८ औं पटकको आरोहणका लागि सगरमाथाको चुचुरोमा उक्लिँदै छन्,’ सेभेन समिटका अध्यक्ष मिग्माले भने ।

कामीरिताले पहिलोपटक २०५१ मा सगरमाथा आरोहण गरेका थिए भने पासाङ दावाले २०५५ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । आरोहीहरूमाझ ‘लुकेको रत्न’ पनि भनिने पासाङ दावालाई सर्वाधिक मन पर्ने खुम्बु क्षेत्रको अमादब्बलम हिमाल हो । उनको घरदेखि डेढ घण्टा पैदल दूरीमा रहेको ६८ सय मिटर १२ फिट उचाइको उक्त हिमाल उनले ७० पटकभन्दा बढी आरोहण गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्