News Portal

रिगल विरुद्धको मुद्दाको सुनुवाइ अब दशैँ पछि कार्तिक १४ गते हुने

फरकपोस्ट संवाददाताअसोज २५ काठमाडौँ
२३४ पटक
असोज २५ काठमाडौँ

काठमाडौँ, जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई कैदमुक्त गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्दामा प्रधानन्यायाधीश सहित तीन न्यायाधीशले हेर्न नमिल्ने आदेश गरेका छन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले रिगल जोडिएको मुद्दा हेर्न नमिल्ने आदेश गरेका हुन् । त्यस्तै प्रकृतिको विषयमा आफूहरुले फरक फरक मुद्दामा फैसला गरेको र ती फैसला नजीरको रुपमा रहेको भन्दै उनीहरुले हेर्न नमिल्ने आदेश गरेका हुन् ।

सर्वोच्च अदालतले मुलुकी संहिता आउनु भन्दा अघिका घटनामा कैदीहरुले ४० प्रतिशत कैद भुक्तान गरे पछि ६० प्रतिशतसम्म कैद छुट पाउने भनी व्याख्या गरेको थियो । कारागार प्रशासनले सोही नजीरका आधारमा रिगललाई रिहा गरिएको दाबी गरेको छ ।

विषयवस्तु जुधेको भन्दै न्यायाधीशहरुले मुद्दा हेर्न नमिल्ने आदेश गरेका हुन् । यो मुद्दा अब दशैँ विदा पछि १४ कात्तिकमा पेशी तोकिएको छ ।

रिगल रिहा भएपछि रिगलद्वारा हत्या गरिएका चेतन मानन्धरकी पत्नीले कैद माफी मिनाहा गर्ने राष्ट्रपति रामचन्द्र पौडेल र सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । उक्त रिटमा सुनुवाइ गर्दै यस अघि सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्माको इजलासले यो मुद्दामा महान्यायाधिवक्तालाई नै बहसमा आउन आदेश गरेका थिए ।

सर्वोच्च अदालतको आदेश बमोजिम महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले बिहीबार सर्वोच्च अदालत पुगेर बहस गरेका थिए । उनले रिगल ढकालको कैद छुटको विषयमा विभिन्न आधार पेश गरेका थिए ।

पहिलो, रिगल विरुद्धको मुद्दा जिल्ला उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेको र सर्वोच्चको मुद्दा अन्तिम भएर बसेकाले उनी कैद मिनाहाका लागि योग्य भएको बताएका थिए ।

रिगललाई कैद सजाय तोकिदा कारागार नियमावली, २०२० कार्यान्वयनमा रहेको र त्यसमा ६० प्रतिशतसम्म कैद छुटको व्यवस्था भएकाले त्यो सुविधा पाएको महान्यायाधिवक्ता पोखरेलको जिकिर थियो ।

कारागारमा चौकीदार भएकाहरुले कैद छुट पाउने, त्यही व्यवस्था अनुसार रिगलको पनि कैद छुट भएको भन्दै महान्यायाधिवक्ता पोखरेलले राष्ट्रपतिबाट भएको निर्णय न्यायिक पुनरावलोकन हुन नसक्ने जिकिर गरे । उनले भने, ‘राष्ट्रपतिबाट सरकारको सिफारिसमा कैद छुट दिने गरी भएको काम संविधान, कानुन र सर्वोच्च अदालतको नजीर अनुकूल छ ।’

सर्वोच्च अदालतका विभिन्न नजीरले असल आचरण भएका कैदीहरुले कैद छुट पाउने र त्यो हक सबैलाई भएकाले रिगललाई पनि वञ्चित गर्न नमिल्ने जिकिर गरे । उनी राजनीतिमै संलग्न भएका कारण अरुले पाएको सुविधाबाट उनलाई वञ्चित गर्न नमिल्ने भन्दै महान्यायाधिवक्ता पोखरेलले सुधारात्मक दण्ड प्रणाली भएको मुलुकमा कैद छुटको निर्णयलाई न्यायिक परीक्षणको विषय बनाउन नहुने जिकिर गरे ।

प्रतिकृया दिनुहोस्