
जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ । दुवै जिल्लामा गरी ९२ जनाभन्दा धेरैको मृत्यु भएको छ भने सयौं घर-गोठहरु भत्किएका छन् ।
भूकम्पको केन्द्रविन्दु पर्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले आज बिहान बारेकोट गाउँपालिकामा मानवीय क्षति भएको विवरण प्राप्त नभएको बताए । केही ठाउँमा सञ्चार सम्पर्क विच्छेद भएकाले सूचना संकलन गर्न नसकिएको उनले बताए ।
अहिलेसम्म वडानम्बर १, २, ३ र ९ मा भूकम्पले बढी क्षति पुगेको आफूले देखेको उनले बताए ।
गाउँपालिकाको माथिल्लो क्षेत्रमा सञ्चार सम्पर्क हुन नसक्दा त्यहाँको अवस्था बुझ्न भने बाँकी रहेको उनले बताए । ‘म मोटरसाइकल जान सक्ने प्राय सबै वडा-वडामा पुगिरहेको छु, कतिपयलाई फोन गरेर वस्तुस्थिति बुझिरहेको छु । तर कतिपय ठाउँ, खासगरी माथिल्लो भेगमा सम्पर्क हुन सकिरहेको छैन ।’
उनले प्रहरी र स्वास्थ्यकर्मीहरुलाई रातिदेखि नै खोज, उद्धार, राहत र उपचारमा खटाइएको जानकारी पनि दिए ।