News Portal

नवराज वि क हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

सौगात सिंह मंसिर १९ काठमाडौँ
२३४ पटक
मंसिर १९ काठमाडौँ

काठमाडौँ। जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज वि क सहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश खडक बहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।

३ जनालाई जातीय छुवाछुतमा मात्र दोषी ठहर गर्दै जनही २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । घटनामा संलग्नको आरोप लागेका ८ जनाले भने सफाइ पाएका जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले बताए ।

नवराज वि ककी प्रेमिका, उनकी आमा र भाइले ज्यान मारेको आरोपबाट सफाइ पाएका छन्, तर जातीय छुवाछुतको आरोपमा दोषी ठहर भएका छन् । सूचना अधिकारी कोइरालाले भने, ‘यसअघि धरौटीमा छुटेकाहरुले ज्यान मारेको आरोपबाट सफाइ पाए । किशोरी, उनकी आमा र नाबालक भाइ भने जातीय छुवाछुतको आरोपमा मात्रै दोषी ठहर भएका छन् ।’ किशोरीका बाबुलाई भने जन्मकैदको सजाय सुनाइएको छ ।

१० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।

उक्त घटनामा जाजरकोटका नवराज वि क, गणेश बुढामगर, सञ्जीव (सञ्जु) वि क, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले उक्त घटनामा २ नाबालकसहित ३४ जनाविरुद्ध क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको कसुरमा जन्मकैदको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

यो घटनामा थुनछेक बहसपछि जिल्ला अदालत रुकुम पश्चिमले आरोपितमध्ये दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र इन्द्रबहादुर मल्ललाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो । त्यस्तै नवराज बिककी प्रेमिकाकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न र अरुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्लाको थुनछेक आदेशको पुनरावेदन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले नवराज वि ककी प्रेमिका र उनका भाइलाई तारेखमा छाड्न आदेश दिएको थियो । त्यस्तै सर्वोच्च अदालतले भीमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र सौरभ पुनलाई धरौटीमा छाड्ने आदेश गरेको थियो । तीबाहेक अरु २३ जना भने पुर्पक्षका लागि थुनामा नै छन् ।

घटनाको अनुसन्धान गरेको नेपाल प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार नवराज वि कको टोली घरमा आएपछि युवतीकी आमाले गालीगलौज गरेकी थिइन् ।

उनले तत्काल फोन गरेर चौरजहारी–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र अरु गाउँलेलाई बोलाएकी थिइन्। गाउँलेहरु आएको थाहा पाएपछि नवराज वि क सहितको टोली भागेको थियो । त्यस क्रममा युवतीका आफन्त र गाउँलेले लखेटी लखेटी उनीहरुको हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरी अनुसन्धानले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३१ जना घटनामा प्रत्यक्ष संलग्न रहेको र नवराज वि ककी प्रेमिका किशोरी, उनकी आमा र किशोरीका ठूलोबाबु इन्द्रबहादुर मल्ललाई घटनाको षड्यन्त्रमा सामेल भएको आरोप उल्लेख गरेको थियो

प्रतिकृया दिनुहोस्