News Portal

त्रिभुवन विश्वविद्यालयको वेबसाइट कसरी पुग्यो कक्षा १२ मा पढ्ने ‘ह्याकर’को अधीनमा ?

अनलाइन सिस्टम सुधार गर्न अझै समय लाग्ने

फरकपोस्ट संवाददातामाघ १७ काठमाडौँ
२३८ पटक
माघ १७ काठमाडौँ

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले माघ १५ गतेबाट अनलाइन मार्फत सेवा प्रवाह थाल्यो तर केही समयमै अनलाइनमा समस्या देखियो । यहाँसम्म कि एक सामान्य ‘ह्याकर’ले सिस्टम ‘ह्याक’ गरिदिए । उनले चुनौती दिँदै भने, ‘हिजो देखि टियु (त्रिभुवन विश्वविद्यालय) ले अनलाइन सेवा सुरु गरेसँगै यसले टियुको वेबसाइट अट्याक सर्फेस पनि बढाएको छ । यसले गर्दा टियुको वेबसाइटमा सुरक्षा चुनौती थपिएको छ ।’

सीसीआरसी कलेजमा कक्षा १२ मा अध्ययनरत ती विद्यार्थीले अब त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीबाट आएका लाखौँ कागजपत्रलाई सुरक्षित राख्नुपर्ने बताए । त्रिभुवन विश्वविद्यालयले कुनै पनि सफ्टवेयर बनाउँदा सुरक्षाको पाटोलाई विशेष महत्त्व दिनुपर्ने उनको भनाइ थियो । उनले सबैको डाटा सुरक्षित राखेको बताउँदै ह्याकिङ गर्नु अवैध र अनैतिक रहेको समेत उल्लेख गरेका थिए ।

हुन पनि विश्वविद्यालय भनेको उच्च शिक्षा हासिल गर्ने थलो हो तर उच्च माध्यमिक तह अध्ययन गरेका विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने थलोले प्रयोग गरेको प्राविधिक विद्वतालाई ठाडो चुनौती मात्र दिएनन्, त्यसमा कब्जा जमाएर खिल्ली उडाइ दिए ।

अनलाइन सिस्टम ह्याक गरेर उनले आफ्नो फेसबुक प्रोफाइल नै राखेका थिए । केही घण्टा पछि उक्त फेसबुक प्रोफाइल हटेको थियो । उनले त्यसपछि सामाजिक सञ्जाल मार्फत् त्रिभुवन विश्वविद्यालयलाई चेतावनी सहितको सुझाव दिएका थिए । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट (tuexam.edu.np) यतिबेला ‘अण्डर कस्ट्रक्सन’ (मर्मत सम्भार) का क्रममा छ ।

त्रिभुवन विश्वविद्यालयका निमित्त रजिस्ट्रार डा. कृष्ण प्रसाद बस्यालले अनलाइनमा समस्या देखिएपछि आईटी टिमले काम गरिरहेको बताए । पिलिमनरी फेजमा ह्याक भएकाले कुनै पनि डाटा चोरीको समस्या नदेखिएको उनको भनाइ थियो ।

परीक्षा नियन्त्रण कार्यालय आईटी विभाग प्रमुख दिपक बहादुर शाहीले समय सीमा भन्दा अगाडि आएर सेवा दिन खोज्दा केही कमजोरी देखिएको बताए । ‘समय सीमा अनुसार काम गर्नुपरेको थियो । अलि समय लगाएर काम गर्न पाएको भए यस्तो समस्या हुने थिएन होला,’ शाहीले भने, ‘यस्तो समस्या नआउला भन्ने थियो तर, प्रविधिले यति फड्को मारिसकेको छ कि हाम्रै विद्यार्थीले सिकेर सिस्टमलाई सुधार गर्ने मौका वा चुनौती दिएका छन्, त्यो सिस्टम सुधारका लागि मौका पनि हो ।’

त्रिभुवन विश्वविद्यालयले सात दिनभित्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाटै शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने गरी अनलाइन सिस्टम थालेको थियो । तर, अनलाइन सेवा सुरूवात गरेको केही समयमै ह्याकरले सिस्टमलाई नै आफ्नो अधीनमा लिए । त्यो भन्दा अगाडि अनलाइनमा थुप्रै खालका समस्या देखिए । सेवाग्राहीले अनलाइन भन्दा त भौतिक रूपमै बल्खु गएर लाइन लागेर प्रमाणपत्र लिन सजिलो हुने भन्दै अनलाइन सिस्टम माथि व्यङ्ग्य समेत गरे । सेवाग्राहीले साइट नै नखुल्ने, खुले पनि फरक फरक निर्देशन आउने जस्ता समस्या भोग्दै आएका थिए ।

परीक्षा नियन्त्रण कार्यालयले १ करोड ७५ लाख रूपैयाँ खर्च गरेर अनलाइन सफ्टवेयरको विकास गर्न लागेको हो । तर, अनलाइन सिस्टमका लागि अहिले थोरै मात्र खर्च गरिएको स्रोतले जनाएको छ ।

यसका लागि परीक्षा नियन्त्रण कार्यालयले एक निजी कम्पनीसँग सम्झौता गरेको हो । गत माघ १० गते अनलाइन डेमो गरेको र त्यो बेला सफल भएको बताइएको छ । तर, सुरक्षा सतर्कताबिना सेवा प्रवाह गर्दा ह्याकरको निशानामा परेको सम्बद्ध स्रोतको भनाइ छ ।

२०७५ सालमा त्रिभुवन विश्वविद्यालयले आवेदन दिएको २४ घण्टामै लब्धाङ्कपत्र (ट्रान्सक्रिप्ट) उपलब्ध गराउने घोषणा गरेको थियो । परीक्षा नियन्त्रण कार्यालयले एक कार्यक्रम आयोजना गरी २०७५ जेठ १३ मा ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ सुरु गरेको थियो । तत्कालीन उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले सो प्रणालीको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालय अब सूचना प्रविधिमैत्री भएको बताएका थिए । उनले भनेका थिए, ‘हामी त्रिविलाई कागज विहीन बनाउने प्रयासमा छौँ । यसैको सुरुवात आजदेखि एकै दिनमा ट्रान्सक्रिप्ट दिन थालेका हौँ । एकै दिनमा ट्रान्सक्रिप्ट दिने सेवालाई विस्तारै क्षेत्रीय कार्यालय र क्याम्पसमा विस्तार गर्नेछौँ ।’ उनले सन् २०२० सम्म अनलाइन प्रणालीलाई व्यवस्थित बनाई परीक्षा सुधार गरिने बताएका थिए । तर पाँच वर्ष बित्दा पनि त्यो लक्ष्य पूरा भएको छैन ।

हाल दैनिक एक हजार ५०० भन्दा बढी विद्यार्थी ट्रान्सक्रिप्ट लिन परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्छन् । अनलाइन सेवा थालेपछि सहज हुने आशामा रहेका सेवाग्राही साइटमा समस्या आउँदा फेरि निराश बनेका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले समस्या देखिएको सिस्टम बनाएर पुनः सेवा सुचारू गरिने जनाएको छ । कार्यालयले अनलाइन मार्फत ट्रान्सक्रिप्ट, प्रोभिजनल, प्रमाण–पत्र, पुनर्योग र करेक्सनको काम थालेको थियो । त्यसका लागि अनलाइन मार्फत आवश्यक कागजात पेस गर्नुपर्ने र आवश्यक दस्तुर बुझाएपछि एक साताभित्र प्रमाणपत्रहरू पाइने जनाएको छ । ती प्रमाणपत्र केन्द्रीय कार्यालय बल्खु र सातै प्रदेशमा रहेका क्षेत्रीय कार्यालयहरूबाट समेत लिन सकिने व्यवस्था मिलाएको हो ।

त्रिभुवन विश्वविद्यालयले निकट भविष्यमा हुलाक मार्फत् नै घरैसम्म प्रमाणपत्र पठाउने गरी तयारी थालेको छ । अनलाइन मार्फत आवेदन दिएपछि हुलाक मार्फत विद्यार्थीको घरमै प्रमाणपत्र पठाउने गरी तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्