News Portal

साढे दुई कराेडकाे प्रलाेभनले निम्ताएकाे विभत्स हत्या

फरकपोस्ट संवाददातासाउन १५ काठमाण्डाैं
६३४ पटक
साउन १५ काठमाण्डाैं

बिमा रकम ठगीका लागि नक्कली बिहे गरेर दुर्घटनाका नाममा हत्या गरिएको घटनामा प्रहरी अनुसन्धानदेखि अदालतको फैसला शंकास्पद देखिएको छ । दुर्घटनामा शंका गर्ने प्रशस्त ठाउँ हुँदा पनि प्रहरीले सतही अनुसन्धान गर्नु र अदालतबाट न्यूनतम सजायमा चालकलाई उन्मुक्ति दिँदा गिरोहले सहजै अपराध लुकाएर साढे दुई करोड बिमाको भुक्तानी लिन सफल भएको थियो ।

कोहलपुरका सर्जन विकको स्थानीय सपना मल्लसँग विवाह गराई दुर्घटनाका नाममा उनको हत्या भएको थियो । घटनामा संलग्न ६ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा बिमा कम्पनीको भूमिका, घटनाको वेला प्रहरीको अनुसन्धान तथा अदालतको फैसलामा प्रशस्त लापरवाही देखिएको सिआइबीका अधिकारीले बताएका छन् ।

२ वैशाख ०७८ राति ११ बजे बसको ठक्करबाट घाइते बनाइएपछि सर्जनको किचेर हत्या भएको थियो । बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरस्थित भित्री सडकमा टोपबहादुर क्षेत्रीले चलाएको भे।१ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट भे।१०प १७२७ नम्बरको मोटरसाइकलमा सवार सर्जनलाई ठक्कर दिएको थियो । घटनाको दिन सर्जनलाई सञ्जीवले बियर खुवाएका थिए । नशा लागेपछि खोलामा बालुवा लोड गर्ने भन्दै सञ्जीव र सर्जन फरक–फरक मोटरसाइकलमा त्यतातर्फ गए । केही अघि बढेपछि सञ्जीवले तीव्र गतिमा आफ्नो मोटरसाइकल अघि बढाए, सर्जन बिस्तारै अघि बढे । बाटोमा एउटा बस रोकेर राखिएको थियो । सर्जनको मोटरसाइकल देख्नेबित्तिकै योजनाअनुसार बसले उनलाई पछ्याएर ठक्कर दिएको थियो । ठक्कर दिँदा मृत्यु हुने पक्का नभएपछि उनलाई पछि तानेर टायरले किचेर हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ । घटनापछि गाडीचालक टोपबहादुर भागेका थिए ।

दुर्घटनाको नाममा सुनियोजित हत्यामा प्रयोग भएको बस र मोटरसाइकल

घटनाको २५ दिनपछि उनीविरुद्ध मुद्दा दायर भयो । २५ फागुनमा जिल्ला अदालत बाँकेले उनलाई जम्मा ३० दिन कैद र तीन हजार जरिवानाको सजाय सुनाएको थियो । जबकि, लापरवाहीका साथ सवारी चलाउँदा मात्र पनि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म सजाय हुने सवारी तथा यातायात व्यवस्था ऐनको व्यवस्था छ । यही सजाय माग गरी प्रहरीले मुद्दा दायर गरेको थियो । जसमा बाँके जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले आंशिक दाबी पुग्ने फैसला गरी ३० दिन मात्र सजाय गरी सवारीधनी सरदार अहमद खाँलाई सफाइ दिएको थियो । अझ हत्याकै उद्देश्यले यसरी दुर्घटना गरेको अवस्थामा जन्मकैदसम्मकै सजाय हुन्छ । यसमा प्रहरीले अनुसन्धानमा गरेको लापरवाहीले आरोपी चालकले न्यूनतम मात्र सजाय पाए भने योजनाकारहरूले उन्मुक्ति पाएका छन् । उच्च सरकारी वकिलको कार्यालयले जिल्लाको फैसलाविरुद्ध उच्चमा पुनरावेदनको तयारी गरिरहेको छ ।

घटनास्थलमा शंका गर्ने प्रशस्त ठाउँ थिए । बैजनाथ गाउँपालिका–६ लालपुरको भित्री सडकमा रुटको बस नै चल्दैन । राति ११ बजे त्यो सडकखण्डमा किन बस गयो भनेर शंकाको सामान्य दृष्टिले समेत प्रहरीले हेरेको छैन । रातको समयमा सडक सुनसान हुने भएकाले हत्याका लागि सो ठाउँ छानिएको थियो । चालक क्षेत्रीले घर फर्कने क्रममा ६ जना स्थानीयले बस रोकेर त्यता पु¥याइदिन आग्रह गरेकाले आफू त्यो सडकमा गएको बयान दिएका छन् । त्यो विषयलाई पुष्टि गर्न प्रहरीले चासो नदिँदा यति ठूलो अपराधका अभियुक्तले उन्मुक्ति पाएका हुन् ।

हाल अनुसन्धानका क्रममा त्यसरी बसको ठक्करबाट हत्या गराउन चालकलाई नौ लाख रुपैयाँ दिने समझदारी भएको थियो । त्यसमध्ये तीन लाख रुपैयाँ दिएको पुष्टि भइसकेको छ । सुनियोजित हत्या भए पनि विगतमा सामान्य सवारी दुर्घटनाको रूपमा मुद्दा दर्ता भएको, अब हत्या मुद्दामा कसरी कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको सिआइबीका निर्देशक एआइजी उत्तमराज सुवेदी बताउँछन् । घटनामा पहिला प्रहरीको लापरवाही नै नभए पनि सूक्ष्म रूपमा अनुसन्धान हुन नसकेको उनी बताउँछन् । सिआइबीले नक्कली बिहे गर्ने सपना, मुख्य योजनाकार सञ्जीव, हत्यामा संलग्न गाडीचालक क्षेत्री, बिमा अभिकर्ता सरदर अहमद खाँ र अन्य दुई सहयोगी दीपक केसी र ललिता सापकोटालाई पक्राउ गरी थुनामा राखेको छ ।

पुनर्बिमा कम्पनीको शंकाले पत्ता लागेको अपराध

यो अपराधको रहस्य खुल्ने क्रम नेपाल पुनर्बिमा कम्पनीका कर्मचारीको आशंकाबाट सुरु भएको थियो । कुनै पनि बिमा कम्पनीले बिमाको जोखिम वहनका लागि पुनर्बिमा गरेको हुन्छ । यसको पुनर्बिमा नेपाल रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल पुनर्बिमा कम्पनीमा गरेको थियो । पुनर्बिमाले पनि छानबिन विस्तृत अध्ययन गरेर मात्र दाबी भुक्तानी दिन्छ । एक सामान्य मजदुरको साढे दुई करोड रुपैयाँको बिमा हुनु, बिमा गरेको चार दिनपछि विवाह दर्ता हुनु र त्यसको एक महिनामै उनको शंकास्पद मृत्यु हुनुले घटना सुनियोजित हुन सक्ने कम्पनीका कर्मचारीलाई लाग्यो । सोही आधारमा पुनर्बिमाले रिलायन्स लाइफ इन्स्योरेन्सलाई यसबारे जानकारी गराएपछि सो कम्पनीका उच्च अधिकारीले पनि अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेका हुन् । कम्पनीको पत्राचारलगत्तै डिएसपी धर्मराज भण्डारीको नेतृत्वमा सिआइबीले अनुसन्धान अघि बढाएको हो । दुई साता लामो अनुसन्धानमा फरक किमिसको अपराध बाहिर आएको सिआबीका एआइजी सुवेदी बताउँछन् । इन्स्योरेन्सले त्यसतर्फ छानबिनमा चासो नदिई दाबी भुक्तानी दियो भन्नेमा समेत शंका गर्ने ठाउँ उब्जिएको छ । जसकारण यसमा कम्पनीको कोहलपुर शाखाका कर्मचारीमाथि समेत छानबिन हुने ब्युरोका प्रहरी अधिकारी बताउँछन् ।

दिल्लीमा टुटेको सपनाको सपना

सपनाको विदेश जाने चाहना गत साता पूरा हुँदै थियो । ९ साउन बिहानै चार साथीहरूका साथ उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्यार्थी भिसामा जापान जाँदै थिइन् । उनको नयाँदिल्लीको ट्रान्जिट थियो । नयाँदिल्लीबाट जापानका लागि उड्न खोज्दा भारतीय अधिकारीहरूले रोकेर नेपाल फर्काइदिएपछि उनको जीवनकै ठूलो खुसी पीडामा परिणत भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिआइबीको टोली उनलाई लिन पुग्दा सपनाको सबै सपना टुटिसकेका थिए । १६ महिनाअघिको सो घटना सबै ‘सेटल’ भइसक्यो भन्ने उनलाई लागेको थियो, तर ढिलोचाँडो अपराध लुक्नेवाला थिएन । उजुरी परेपछि सपनालाई केही दिनदेखि प्रहरीले निगरानीमा राखिरहेको थियो । ९ साउनमा उनी दिल्ली पुगिसकेको खुल्यो । प्रहरीले भारतीय अधिकारीसँग समन्वय गरी पक्राउ गरेको हो । सिआइबीका अनुसार बिमाबापत आएको साढे दुई करोडमध्ये एक करोड सात लाख ६६ हजार सपना र उनको परिवारले लिएको देखिन्छ । ८० लाख ३६ हजार सञ्जीव र ६० लाख दीपक केसीले लिएका थिए ।

थप व्यक्तिको बिमा गरेर हत्याको तयारी

सो समूहले यसैगरी अन्य व्यक्तिको पनि बिमा गराई नक्कली बिहे गराएर हत्या गराउने योजना बनाएको केही प्रमाण प्रहरीले संकलन गरेको छ । त्यसका लागि थप केही व्यक्तिको बिमा तथा विवाह दर्ता गराइएको पत्ता लागेको छ । त्यस विषयमा विस्तृत अनुसन्धान भइरहेको सिआइबीका निर्देशक एआइजी सुवेदीले बताए । अस्वाभाविक लाग्ने बिमाको विवरण संकलन गरेर प्रहरीले अनुसन्धान थालेको हो । प्रहरी स्रोतका अनुसार सर्जनजस्तै अन्य व्यक्तिको पनि त्यसैगरी नक्कली विवाह गराएर हत्या गरिएको केही संकेत मिलेका छन् । बिमा क्षेत्रमा नियमन बलियो नहुँदा पनि यस्तो विकृति बढेको प्रहरी अधिकारीहरू बताउँछन् ।

अभिकर्ताको तालिमपछि जन्मिएको अपराध

घटनाका मुख्य योजनाकार सञ्जीव अर्याल हुन् । जसले आफैँ पनि जीवन बिमा अभिकर्ताको तालिम लिएका थिए । मेटलाइफ इन्स्योरेन्सबाट दुई वर्षअघि तालिम लिएको, तर काम भने नगरेको अनुसन्धानमा खुलेको छ । तालिम लिएपछि उनले जीवन बिमाको फाइदाबारे थाहा पाएका थिए । त्यही ज्ञानलाई उनले अपराधमा प्रयोग गरेका हुन् । सुरुमा उनले आरती भन्ने ललिता सापकोटालाई नै त्यसरी सर्जनसँग विवाह दर्ता गराएर आफ्नो योजनामा सहभागी गराउन लागेका थिए । तर, उनको उमेर नपुगेपछि उनको साथी खोज्न लगाए । त्यही क्रममा ललिताले सपना मल्ललाई सञ्जीवसँग भेट गराइदिइन् । सपना र ललिता स्कुलका सहपाठी हुन् । सपना जसरी पनि विदेश जान चाहन्थिन् । सञ्जीवले उनको महŒवाकांक्षा पूरा गरिदिने आश्वासन दिए । डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिने र पैसा पनि दिने भन्दै त्यसरी नक्कली बिहे गरेर बिमा रकम लिने योजना सुनाए । त्यसमा उनी सहमत भएकी थिइन् । सोही योजनाअनुसार दुईजनाले २ चैत ०७७ मा विवाद दर्ता गराएका थिए । कमजोर आर्थिक अवस्था भएका सर्जनलाई पनि उनले त्यसरी विवाह गर्दा आर्थिक फाइदा हुने आश्वासन दिएका थिए । मुख्य योजनाकार सञ्जीव जुवाडे भएको र त्यसरी ठगीको पैसा उनले जुवामै सकाएको समेत प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

नयाँ पत्रिकाको सहयोगमा

प्रतिकृया दिनुहोस्