News Portal

फरकपोस्ट संवाददाता जेठ २२ काठमाडौँ
१० पटक
जेठ २२ काठमाडौँ

नेकपा एकीकृत समाजवादीले पार्टी र नेतृत्वविरुद्ध हुने कुनै पनि जालझेल, षड्यन्त्रको प्रतिवाद गर्ने  बताएको छ ।

पार्टी महासचिव घनश्याम भुसालले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारबाट हुने कुनै पनि षड्यन्त्रको प्रतिवाद गर्ने जनाएका हुन् ।

‘वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही हाम्रो पार्टीका विरुद्ध विगतदेखि नै षडयन्त्रहरू गर्दै आएको कुरा विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्वजनिक गर्दै आएका थियौं,’ भुसालले भनेका छन्, ‘यो हाम्राविरुद्ध षड्यन्त्र अर्को घटना हो भन्ने हाम्रो ठहर छ । यस्तो कुनै पनि षड्यन्त्रको प्रतिवाद गरिनेछ ।’

पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसलाई एकीकृत समाजवादीले पार्टीविरुद्धको जालझेल र षड्यन्त्र भनेको हो ।

विज्ञप्तिमा भुसालले पार्टी अध्यक्षले नै कुनै कमजोरी नगरेको बताएको भन्दै कानुनी प्रक्रियाको सामना गर्ने स्पष्ट पारेका छन् ।

‘यस घटनालाई स्वयं पार्टी अध्यक्ष माधवकुमार नेपालले नबिराउनु, नडराउनु भनेर आफ्नो प्रारम्भिक धारणा सार्वजनिक गर्नु भएको छ । र, त्यसरी नै कानुनी प्रक्रियाको सामना गर्ने दृढता व्यक्त गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दाका बारेमा गरिने कुनै पनि कुप्रचार र भ्रममा नपर्न पार्टी पंक्ति र जनसमुदायलाई अनुरोध गरिन्छ ।’ विज्ञप्तिमा भनिएकाे छ ।

प्रतिकृया दिनुहोस्