News Portal

खुल्ला दोहोरी गीत प्रतियोगितामा जीवन सिग्देल र अस्मिता डल्लाकोटी उत्कृष्ट

फरकपोस्ट संवाददाताचैत २० काठमाडौं
२९८३ पटक
चैत २० काठमाडौं

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ मा नगरकोट दोहोरी साँझ उत्कृष्ट भएको छ। प्रतियोगितामा देशका ४५ भन्दा बढी जिल्लाबाट ६१ टोली सहभागी भएका थिए ।

चैत १६ गतेदेखि काठमाडौंको भृकुटी मण्डप बँगैचामा प्रतियोगिता सुरु भएको थियो । खुला प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा नगरकोट दोहोरी र गामबेसी दोहोरी साँझ बीच कडा प्रतिस्पर्धा भएको थियो । जसमा गामबेसी दोहोरी साँझलाई पछि पार्दै नगरकोट दोहोरी साँझको टोलीका गायक जीवन सिग्देल र गायिका अस्मिता डल्लाकोटी उत्कृष्ट भएका छन् । उनीहरुले लोक दोहोरी तर्फको राष्ट्रिय रनिङ शिल्डसँगै २ लाख ५० हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।

राष्ट्रिय लोक दोहोरी प्रतियोगितामा गामबेसी दोहोरी साँझ दोस्रो भएको छ । गामबेसी दोहोरी साँझ काठमाडौंका अर्जुन खड्का र शान्ता ओली द्धितीय पुस्कार स्वरुप ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगितामा यस पटक दुई समुहले तेस्रो स्थान हासिल गर्न सफल भएका छन । अन्तिम प्रतिस्पर्धामा उत्रिएर पहिलो र दोस्रो हुनेसँग भिडेका बाँकी दुई टोली काठमाडौंको क्विन रोधी क्लब र लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठान तृतीय भएका हुन् । तेस्रो हुने टोलीले १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । क्विन रोधी क्लबका श्याम राना र हरिमाया रायमाझी संगै लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठानका विक्रमबाबु विश्वकर्मा र लक्ष्मी बस्नेतले तृतीय स्थान हासिल गरेका छन ।

विजयी प्रतियोगिहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, संरक्षक पृथ्बी थकाली सहित पूर्व अध्यक्ष तथा अन्य अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगितामा समुन खड्का, राजु लामिछानेले उत्कृष्ट पुरुष कलाकारको तथा पुजा पुन र अर्चना चापागाईले उत्कृष्ट महिला कलाकारको पुरस्कार जितेका छन । उनीहरुले पुरस्कार स्वरुप जनही १० हजार रुपैयाँ र प्रमाणपत्र समेत पाएका छन । यसैबीच अनुशासित टिमको पुरस्कार ओखलढुंगाक लोक दोहोरी प्रतिष्ठान टिमले प्राप्त गरेको छ । उत्कृष्ट अनुशासित टिमको पुरस्कार स्वरुप उनीहरुले प्रमाणपत्र र १० हजार रुपैयाँ पाएका छन । प्रतियोगितामा उत्कृष्ट गीत गाएका नव कलाकार निशान्त विक र दिल कुमारी बिकले नव प्रतिभा प्रोत्साहन पुरस्कार स्वरुप जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र पाएका छन । त्यस्तै भद्रकाली आमा समुहलाई प्रोत्साह पुरस्कार स्वरुप ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।

पुरस्कार वितरण पछि बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले सबैलाई धन्यवाद ज्ञापन गर्दै कोरोनाको महामारीले सुस्ताएको लोक दाहोरी संगीत फेरि जुरुक्क उठेको बताए । कलाकारहरुलाई लोक दोहोरी गायनमा अक्ष प्रेरणा जगाउन आफूहरुले यो प्रतियोगिता आयोजना गरेको अध्यक्ष बिजीले बताए । सबैको आर्थिक भाैतिक नैतिक सहयोगका कारण प्रतियोगिता भव्य रुपमा सफल भएको अध्यक्ष बिजीले बताएका छन ।

बिगत चार दिनदेखि चलिरहेको कार्यक्रमलाई प्रतिष्ठानका महासचिव सुवास केसीले सञ्चालन गरेका थिए । उनले प्रतियोगितालाई आफ्नो प्रस्तुतिबाट निरन्तर निकै रोचक बनाएका थिए । यस पटक यो प्रतियोगितामा प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेको संयोजकत्वमा पूर्व अध्यक्ष, अध्यक्ष तथा अहिलेका पुस्ताका चर्चित लोक दोहोरी गायकसहित १० जनाको निर्णायक टोलीले ६१ टोलीबाट विभिन्न चरणको दोहोरी गायन पश्चात उत्कृष्ट टिम तथा कलाकारको चयन गरेका हुन ।

प्रतिकृया दिनुहोस्