News Portal

प्रत्यक्ष दोहोरीमा छाडा शब्द गाउने १३ कलाकारले मागे माफी

फरकपोस्ट संवाददाताअसार २० काठमाण्डाैं
२४८० पटक
असार २० काठमाण्डाैं

प्रत्यक्ष दाेहाेरीमा अश्लील शब्द गाएर सामाजिक सद्भाव बिगारेको आरोप लागेका १३ जना लाइभ दोहोरी कलाकारले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानलाई स्पष्टीकरण दिएका छन् । प्रत्यक्ष दोहोरीको नाममा छाडा गीत गाएको व्यापक जनगुनासो आएपछि प्रतिष्ठानले पत्र काट्दै २० जना कलाकारलाई आइतबार कार्यालयमा बोलाएको थियो । तीमध्ये १३ जना मात्र उपस्थित भएर स्पष्टीकरण दिएका छन् ।

उपस्थित सबै जनाले आइन्दा लाइभ दोहोरीमा छाडा शब्द नगाउने भन्दै प्रतिबद्धता जनाएको प्रतिष्ठान अन्तर्गतको विकृति विसंगति रोकथाम कार्यदल संयोजक शिव हमालले जानकारी गराए। ‘उहाँहरुलाई सचेत गराइएको छ । स्पष्टीकरण सोधिएको छ र आइन्दा गल्ती  नदाेर्याउने  प्रतिबद्धता जनाउनुभएको छ,’ हमालले भने, ‘दोहोरीको द पनि नजान्नेलाई गाउन लगाएर भएन । अर्काले लेखेर गीत गाएको देखिएको छ । हामीलाई उहाँहरुलाई चेतावनी दियौं ।’

तर प्रतिष्ठानले सचेत गराउँदै स्पष्टीकरण सोधेको यो पहिलोपटक भने होइन । यसअघि पनि स्पष्टीकरण सोधिएको थियो, तर प्रत्यक्ष दोहोरी कलाकारसामु प्रतिष्ठान निरीह देखिएको छ। पछिल्लो समय लाइभ दोहोरीको नाममा छाडापन बढेको गुनासो बढेको छ । कतिपय अग्रणी कलाकार समेत यस्तो कार्यमा संलग्न रहेको पाइएको छ ।

प्रतिकृया दिनुहोस्