
गोधूलि साहित्य प्रतिष्ठानको १७ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा ठेट गीत गायिका बागलुङकी ७८ वर्षीय पवित्रा रसाइली सम्मानित भएकी छिन् । उनलाई गोधूलि भद्रकुमारी–ओली आदर्श आमा पुरस्कार २०७९ बाट नगद राशि सहित सम्मान गरिएकाे हो ।
कला साहित्य र संस्कृतीमा समर्पित गोधूली साहित्य प्रतिष्ठानले प्रज्ञाप्रतिष्ठान कमलादीमा एक विशेष समाहोरको आयोजना गर्दै पवित्रा रसाइली सहित कला, साहित्य र संस्कृतिमा योगदान पुर्याउने अन्य विभिन्न व्यक्तिहरुलाई अभिनन्दन, सम्मान तथा पुरस्कृत गरेको छ ।
७८ वर्षको वृद्ध उमेरमा पनि नेपाली ठेट कला, साहित्य र संस्कृतिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको आयोजक गोधूली साहित्य प्रतिष्ठानले बताएको छ ।
पुरस्कृत र सम्मानित हुने व्यक्तिहरुलाई ललितपुर महानगर नगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले अभिनन्दन, सम्मान र पुरस्कार प्रदान गरेका थिए ।
गायिका पवित्रा रसाइली वरिष्ठ संगीतकार बिबि अनुरागी, गायिका स्वरुपा रसाइली र सर्वपरिचित ध्वनि सम्पादक श्याश्वेत रसाइलीका आमा हुन् । उनलेे ‘उहिले उहिले तीज’ नामका गीतको दुई भाग बजार ल्याई सकेका छन् । जुन गीतहरु जनमानसमा असाध्यै लोकप्रिय रहेका छन् भने युटुबमा लाखौं भ्युज समेत पाएका छन् ।
पवित्रा रसाइलीका आवाजमा धौलागिरी क्षेत्रमा प्रचलित यानीमाया, ठाडो भाका लगायतका ठेट र मौलिक सृजनाहरु तयारी अवस्थामा रहेका र क्रमश सार्वजनिक गर्दै जाने संगीतकार बिबि अनुरागीले जानकारी दिएका छन् ।