News Portal

नेपालको शैक्षिक क्षेत्रमा करोना कहरको प्रभाव

अजय बि.क.शिक्षक
६३६ पटक
शिक्षक

लकडाउन (बन्दाबन्दी) का कारण विश्वको अन्य मुलुकमा जस्तै नेपालमा पनि स्कूल कलेज तथा विश्व विद्यालयहरु बन्द गरिएका छन् । हतार–हतार र त्रासको बिचमा पटक–पटक मिति सार्दे सञ्चालन गरिएको वार्षिक परीक्षाको परिणाम पनि प्रकाशन गरियो तर एस.ई.ई. लाई पुनः आन्तरिक मूल्यांकन बाट नै परिणाम दिने र कक्षा-१२ को परीक्षाको अन्योलता विद्यार्थीहरुको चिन्ताको बिषय बनेको छ । यसैगरी सामुदायिक विद्यालयमा पढ्ने धेरै जसो विद्यार्थीहरु दैनिक ज्याला मजदुरी गर्ने न्युन आय वर्गका परिवारका छन् । यस परिस्थितीमा उनीहरुको परिवारमा हातमुख जोड्ने समस्याले विद्यार्थीहरुमा पर्ने मनोवैज्ञानिक असर र त्यस पछिको सिकाइमा यसले पार्ने गम्भीर असर अर्को महत्वपूर्ण पक्ष हो ।

विश्व जगत् अहिले कोरोना महामारीका कारण आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक रूपमा क्षतविक्षत हुन गई गरिबी, बेरोजगारी र भोकमरी जस्ता समस्याबाट थिलथिलो परेको सन्दर्भमा शिक्षा क्षेत्र पनि कोरोना कहरबाट प्रताडित मात्र भएन कि शैक्षिक क्यालेन्डरको समेत क्रमभङ्गता भएको छ भने शिक्षा प्रणाली नै निष्प्रभावी र अनुत्पादक सिद्ध भएको छ ।

विश्व जगत् अहिले कोरोना महामारीका कारण आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक रूपमा क्षतविक्षत हुन गई गरिबी, बेरोजगारी र भोकमरी जस्ता समस्याबाट थिलथिलो परेको सन्दर्भमा शिक्षा क्षेत्र पनि कोरोना कहरबाट प्रताडित मात्र भएन कि शैक्षिक क्यालेन्डरको समेत क्रमभङ्गता भएको छ भने शिक्षा प्रणाली नै निष्प्रभावी र अनुत्पादक सिद्ध भएको छ । यद्यपि विद्यालय शिक्षामा कोरोना कहरको प्रभावलाई सबल र दुर्बल ढङ्गबाट बुँदागत रूपमा यसरी संक्षेपिकरण गर्न खोजिएको छ

सकारात्मक पक्ष :

क) डिजिटल डाइनास्वर प्रवृत्तिका मौजुदा शैक्षिक जनशक्ति र स्क्रिनयुगिन सिकारुका बिचमा हाम्रो शिक्षा प्रणालीले अपडेट गर्ने अवसर प्राप्त गर्दै छ ।
ख) शिक्षा प्रणालीको प्याराडाइज्म सिफ्ट हुदैछ भने शिक्षा क्षेत्रमा गरिँदै आएको राष्ट्रिय लगानी र प्राथमिकतामा समेत पुनर्विचार गर्ने अवसर प्राप्त भएको छ ।
ग) समय परिवेशअनुसार आफूलाई अद्यावधिक गरी शिक्षण सिकाइका वैकल्पिक माध्यमको प्रयोग मार्फत सिक्न र सिकाउन तयारी हुनुपर्ने कुराको सकारात्मक सन्देश प्राप्त भएको छ ।
घ) सिक्ने (विद्यार्थी) र सिकाउने (शिक्षक ) दुवै पक्षलाई शिक्षण सिकाइका सवालमा प्रविधि मैत्री बन्नका लागि प्रेरित गरेको छ ।
ङ) प्रविधिको उपयोग गर्ने बानीको विकास हुन थालेको छ । जहाँ अनलाइन अफलाइन मोडमा शिक्षण सिकाई मार्फत सिकाइलाई निरन्तरता दिने अवसर प्राप्त भएको छ ।
च) पहुँच र प्राप्यताका आधारमा रेडियो, स्थानीय एफ.एम. टेलिभिजन र इन्टरनेट मार्फत अनलाइन क्लास, भर्चुअल क्लास र जुम मिटिङ जस्ता वैकल्पिक सिकाइ माध्यमका लागि वातावरण तयार हुदैछ ।

छ) प्रविधिको उपयोगमार्फत स्व:अध्ययन गर्ने बानीको विकास भएको छ ।
ज) सिकाइ सहजीकरण, सियरिङ्ग र क्षमता विकासको पर्याप्त अवसर प्राप्त भएको छ ।
झ) सिकारुका लागि विद्यालय भित्रको औंपचारीक पढाइ मात्र पर्याप्त होइन हाम्रा घर, टोल र समाजलाई समेत ज्ञान आर्जनका थलोका रूपमा विकास गर्दै सिकाइ गर्नुपर्ने मान्यताले स्थान पाएको छ ।
ञ) अभिभावक र विद्यार्थीका बिचमा दोहोरो जबाफदेहिता अभिवृद्धि भएको छ । विद्यार्थीले घर परिवारबाट जीवनका मूल्य, संस्कार र व्यवहारिक तथा प्रयोगात्मक ज्ञान आर्जन गर्ने अवसर प्राप्त गरेका छन् ।
ट) हिजोका दिनमा हाम्रा नानी बाबुले कार्टुन र पब्जीका लागि प्रायजसो प्रयोगमा ल्याइएका हाम्रा ल्यापटप, स्मार्ट फोन जस्ता विद्युतीय उपकरणलाई सिकाइका लागि सिर्जनात्मक ढङ्गबाट (वीथफन ) उपयोग गर्ने अवसर प्राप्त भएको छ ।

नकारात्मक पक्ष :

क) बालबालिकाको शिक्षण सिकाइका प्रभावित हुनुका साथै बिशेषगरी सीमान्तकृत बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र पोषणमा समेत नकारात्मक असर परेको छ ।
ख) कोरोना कहर महामारीका कारण सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गतिविधिमा समेत हुँदा खाने र हुने खाने वर्गले प्राप्त गर्दै आएको शिक्षामा समेत ठुलो दरार आउने देखिन्छ । जसको ज्वलन्त उदाहरण कोरोना कहरका बिचमा सुविधा सम्पन्न संस्थागत विद्यालयले सञ्चालन गरेको गतिविधिबाट आङ्कलन गर्न सकिन्छ ।
ग) डब्लुएचओका अनुसार, अति विपन्न राष्ट्रका बालबालिका दिन भरीको एक छाक खानाको लागि प्राय: विद्यालयको भर पर्दछन् । तर अहिले कोभिड- १९ का कारण विद्यालय बन्द भएसँगै संसार भरका करिब ३७ करोड बालबालिकाले पोषणयुक्त भोजन गुमाइरहेका छन् ।
घ) दिवा खाजा कार्यक्रम लागु गरिएका जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी उक्त कार्यक्रमबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने अवस्था सामान्य नभएमा ७७ जिल्लाका २८ लाख बालबालिका समेतले उक्त अवसर गुमाउने छन्। जसको असर विद्यार्थीको आर्थिक, शैक्षिक र पोषणमा समेत पर्न गई शिक्षणका क्षेत्रमा दीर्घकालका लागि अवसर गुम्ने खतरा देखिन्छ ।
ङ) बढ्दो शैक्षिक असमानता, कमजोर स्वास्थ्य अवस्था, हिंसा , बालश्रम तथा बालविवाह जस्ता जोखिम बढ्ने सम्भावना देखिन्छ ।
च) सुरक्षित समय आउनासाथ विद्यालयलाई पुनः सञ्चालन गर्न सकेनौ भने, यसले शिक्षामा अपूरणीय क्षति हुने सम्भावना उच्च रहन्छ ।
छ) बालबालिकाले विद्यालयबाट अहिले सम्म हासिल गरेका सिकाइ उपलब्धिहरू गुम्ने खतरा त्यतिकै देखिन्छ।
ज) शिक्षण सिकाइमा भएको क्रमभङ्गताका कारण विद्यार्थीमा मनोवैज्ञानिक असर परी तत्काल शिक्षण सिकाइमा जीवन्त सहभागिताका लागि प्रेरित हुन सक्ने सम्भावना न्यून देखिन्छ भने अभिभावकहरू आफ्ना सन्ततिको भविष्य प्रति चिन्तित भएको देखिन्छ ।
शैक्षिक क्षेती न्यूनीकरणका उपायहरु
क) पाठ्यपुस्तक सबैको हातमा पुर्‍याइ सकेपछि स्व: अध्ययनका लागि विद्यार्थीलाई प्रेरित गरौँ ।
ख) महामारीका कारण गुमेको शैक्षिक सत्रहरू पुन:प्राप्त गर्न पहुँच, प्राप्यता, सान्दर्भिकता र सामर्थ्यताका आधारमा वैकल्पिक माध्यमको उपयोग मार्फत घरमै बसी शिक्षणात्मक क्रियाकलाप सञ्चालन गर्ने तर्फ सोचौँ ।
ग) कन्ट्याक्ट सेशनमा कम्तीमा पनि ३/४ वटा सेशन सञ्चालन गरिसके पछि विद्यार्थीलाई १ हप्ताको प्रोजेक्ट वर्क दिने र त्यसको समीक्षा गर्ने गरौँ ।
घ) जुन क्षेत्रका विद्यार्थी टेलिभिजनको पहुँचमा छन् त्यस्ता, खालका सिकारुका लागि भर्च्यअल क्लास सञ्चालन गरौँ ।
ङ) कम्प्युटरको पहुँच छ तर इन्टरनेटको सुविधा छैन त्यस्ता खालका सिकारुका लागि अफलाइन मोडका श्रव्य, श्रव्य दृश्य, सिडी लगायतका शिक्षण प्याकेज तयारी गरी सिकारुको हातमा पुर्‍याऔँ र प्रयोगका लागि विद्यार्थीलाई सहजीकरणको प्रबन्ध गरौँ ।
च) इन्टरनेट तथा सूचना सञ्चार प्रविधिको साधनमा पहुँच भएका विद्यार्थी समूहको पहीँचान गरी तत्काल उक्त समूहका विद्यार्थीलाई अनलाइन मार्फत रिसिभर (विद्यार्थी) र डेलीभर (शिक्षक) दुवैको क्षमता विकासमा सहजीकरण गरी अनलाइन क्लास, भर्चुअल क्लास र जुम मिटिङ को उपयोग गरी शिक्षण क्रियाकलापलाई निरन्तरता दिने व्यवस्था मिलाउने ।

अजय बि.क. (शिक्षक) श्री शुभ प्रभात माध्यमिक विद्यालय  घोराही दाङ 

प्रतिकृया दिनुहोस्