News Portal

बटारिएर हतारिएका विप्लव

गोविन्द अनेक साउन २७ काठमाडौं
१७६७ पटक
साउन २७ काठमाडौं

माओवादी दशवर्षे जनयुद्धको नेतृत्वदायी भूमिकामा रहेर महत्त्वपूर्ण योगदान पुर्‍याएका एक पात्र हुन तात्कालिन नेकपा माओवादीका केन्द्रीय सदस्य एवं हाल नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादी पार्टी र आन्दोलनमा एउटा साहसी, खरो र आक्रामक स्वभावका नेताको परिचय बनाएका विप्लव माओवादी जनयुद्धकै समयमा कालिकोटमा जनताको नेतृत्वमा प्रहरीको हातबाट हतियार समेत कब्जा गरेपछि उनको चर्चा झनै चुलिएको थियो । जनयुद्धकै समयमा पार्टीले बनाएको आधार इलाकाको इन्चार्ज बनेर कुशलतापूर्वक नेतृत्व गरिसकेका विप्लव जनयुद्धका ‘सुप्रिमो’ पार्टी अध्यक्ष प्रचण्डका विश्वासका पात्रका रुपमा चिनिन्थे । पार्टीको नयाँ नीति र कार्यक्रम आउनासाथ त्यसलाई दृढतापूर्वक लागू गर्न र जनताका बिचमा लैजाने सन्दर्भमा पनि विप्लव अरु नेताको तुलनामा अगाडी नै आउथे । खरो तथा विद्रोही स्वभाव भएका विप्लवको राजनीतिक स्प्रिट र लगावलाई माओवादी पार्टीको भावी उत्तराधिकारीको रुपमा पनि हेरिन्थ्यो ।

माओवादी जनयुद्ध र ०६२/०६३ को जनआन्दलनको बलले देशमा विद्यमान रुपमा रहेको निरंकुश राज संस्थालाई घुँडा टेकायो र त्यसको जगमा देशमा गणतन्त्र स्थापना भयो । माओवादी द्वन्द्वको राजनीतिबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गर्‍यो । त्यतिबेला ७ राजनीतिक दल र माओवादीले संयुक्तरूपमा १२ बुँदे समझदारी गरेर देशमा गणतन्त्रको स्थापना भएको थियो ।

माओवादी पार्टी शान्तिपूर्ण राजनीतिमा ओर्लिएपछि पार्टीमा अन्तरसंघर्षका रुपहरु देखापर्ने स्थिती आयो । संघर्षको उठान र पार्टी नेतृत्वप्रती फरक मत राख्ने देखि लिएर वरिष्ठ उपाध्यक्ष मोहन बैद्य ‘किरण’ को नेतृत्वमा पार्टी अध्यक्ष प्रचण्ड विरुद्ध फरक दस्तावेज लैजाने सम्मको भूमिका समेत यिनै विप्लव बलबुताले भ्याएस लागिपरे । उनको यस्तो गतिविधि देखि प्रचण्ड झस्किएका थिए । आफूविरुद्धको गतिविधिमा विप्लव पेचिलो बनेर आएपछि प्रचण्डका विश्वासका पात्रका रुपमा रहेका विप्लव विस्तारै प्रचण्डबाट विमुख हुँदै गए । प्रचण्ड पनि आफू विरुद्धको आवाजलाई दबाउन कम माहिर थिएनन् । विप्लवलाई बिस्तारै किनारा लागउँदै आफ्नो निकट लिदै थिए वर्षमा पुन ‘अन्नत’ नन्दकिशोर पुन ‘पासाङ’ जनार्दशन शर्मा ‘प्रभाकर’ लगायतका नेताहरुलाई । प्रचण्ड विरुद्ध खुलेर लागेका विप्लवले पनि प्रचण्डको आफू विरुद्ध केन्द्रित कार्यशैली सजिलै बुझिहाल्थे । आजभन्दा भोली भोली भन्दा पर्सी दुई नेताको राजनीतिक सम्बन्ध चिसिदै आरोपप्रत्यारोपमा मिसिदै गयो । प्रचण्ड विरुद्धमा उभिन विप्लवले पार्टीका वरिष्ठ उपाध्यक्ष किरणको साथ पाएका थिए । किरणको साथ र आड भरोसामा विप्लव प्रचण्ड विरुद्ध खुलेरै मच्चिने गर्थे । पार्टीभित्र वैचारिक मत भिन्नताले उग्ररुप लियो । विवाद चरम उत्कर्षमा पुग्यो र पार्टी विभाजनको संघारमा पुग्यो । २०६९ असारमा माओवादी पार्टी औपचारिकरुपमा विभाजन भयो । पार्टी वरिष्ठ उपाध्यक्ष किरणको नेतृत्वमा विद्रोह गरेर पार्टीका १४९ केन्द्रीय सदस्य मध्ये ४५ केन्द्रीय सदस्य र संविधान सभाका ९६ सांसद लिएर नेकपा–माओवादी गठन गरियो । प्रचण्ड विरुद्धको संघर्ष हुँदै विभाजनसम्म आउँदा नेतृत्वमा किरणलाई देखाएपनि यसका मुख्य योजनाकार उनै विप्लव नै थिए ।

नवगठित नेकपा–माओवादीको सचिवको भूमिकामा विप्लवको उदय भयो । विप्लवभित्र रहेको तिव्र र उच्च महत्वकांक्षाले नेकपा–माओवादी पनि एक रहन सकेन र अन्तत: गठन भएको दुईवर्षमै विभाजन भयो । आफूभित्र महत्वकांक्षा भएको कुरा स्वंयम विप्लव आफैंले पनि बेलाबेलामा भन्दै आएका छन् । किरणले पार्टीलाई समयअनुसार चलाउन नसकेको आन्दोल र संघर्षमा जानबाट हच्किएको, रुढीवाद र संकीर्णतामा क्रान्तिकारी आन्दोलन र पार्टीलाई अल्झाएको भन्दै किरणको कडा राजनीतिक आलोचनामा उत्रिए । किरण विरुद्ध फरक राजनीतिक प्रतिवेदन समेत विप्लवले तयार पारे । तर विप्लवको फरक राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा अल्पमतमा पर्याे । उनी कमजोर सावित भए । यति हुदाँ पनि उनले किरण विरुद्धको संघर्ष जारी राखिरहे । विप्लवले अध्यक्ष किरण संग पटकपटक बैठकको माग समेत गरे तर किरणले विप्लवको कुरालाई सम्बोधन गर्न त परै जाओस् सुन्न समेत रुचाएन । बरु विप्लवलाई महत्वकांक्षी, उग्रवादी र प्रतिक्रान्तिकारीको संज्ञा दिए ।

फरक राजनीतिक प्रतिवेदन अल्पमतमा परेर खारेज हुनु । किरणले आफ्नो कुरा नसुन्नु यी विषयले विप्लवलाई अप्ठेरोमा ठाउँमा पुर्‍यायो । किरणले पार्टी र नेतृत्वका विरुद्धमा लागेको भन्दै विप्लवसहितका केही नेतालाई कारबारहीको तयारी गर्दै थिए । यो कुरा विप्लवले बुझिसकेकाले उनी पहिल्यै अध्यक्ष किरणलाई पार्टीमा रहन नसकेको जानकारी गराउदै प्रत्यक्ष भेटेर छोडपत्र बुझाइदिए । यसअघि विप्लवले कपिलवस्तुको एउटा जंगलमा आफू निकट नेता कार्यकर्ताको गोप्य भेला गरेर पार्टीमा विभाजन आउनसक्ने भन्दै विद्रोहको लागि तयार रहन र क्रान्तिकारी लाइनमा उभिन अपिल गरेका थिए । किरणहरुबाट क्रान्ति संभव नरहेको भन्दै क्रान्तिको झण्डा उठान तयार रहन पनि विप्लवले कार्यकर्तामाझ स्पस्ट पारेका थिए । पछि त उनले यसका लागि खुला आव्हानै गरे ।

प्रचण्डबाट बिच्किएर किरणको नेतृत्वमा पुगेका विप्लव अन्तत: किरण सँग पनि लामो समय एकसाथ रहन सकेन् । नयाँ पार्टीको घोषणा गर्दै विप्लवले अर्काे क्रान्ति गर्ने चर्काे भाषण गरे । प्रचण्डको विचलन र पतनले नेकपा–माओवादी जन्मिएतापनि पार्टी र नेतृत्वले सही दिशा निर्देश गर्न नसकेको र गतिशिल हुन नसकेको भन्दै आफूहरुले नयाँ पार्टीको गठन गर्नुपरेको जानकारी खुलामञ्चमा उभिएर बताए । विभाजन र नयाँ पार्टी गठनका लागि विप्लवलाई नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सन्तोष बुढा मगर, धर्मेन्द्र बास्तोला माइला लामा, असारे काका लगायतका नेताहरुले साथ दिएका थिए ।

पार्टी पुनःनिर्माण संगै विप्लव पार्टीको राजनीतिक कार्यदिशा र क्रान्तिका लागि नयाँ दस्तावेज निर्माण र संश्लेषणमा लागे । महाधिवेशन मूलआयोजक समिति बनाएर महाधिवेशको मिति तय गरेको विप्लव नेतृत्वको माओवादीले ७औं महाधिवेशनबाट विप्लवले प्रस्ताव गरेको पार्टीको राजनीतिक कार्यदिशाको रुपमा ‘एकीकृत जनक्रान्ति’ लाई सर्वसम्मत पारित गर्याे । विप्लव आवश्क परेको खण्डमा संघर्षमा जानसम्म सकिने मनस्थितिका साथ लागिरहेका थिए ।

०७४ सालको स्थानीय निर्वाचनलाई पार्टीले सशक्तरुपमा खारेज गर्ने नीति लियो । नेता, कार्यकर्तालाई निर्वाचनको विरुद्धमा उभिन र खारेज गर्न पार्टीले निर्देशन दियो । निर्वाचनको समयमा विभिन्न नेता लक्ष्ति आक्रमण पनि विप्लव नेतृत्वको पार्टीले गर्‍यो । निर्वाचन खारेजीको नीति लिएपछि सरकार विप्लव नेतृत्वको पार्टीको कडा निगरानी गरिरहेको थियो । निर्वाचन खारेजी अभियान चलाएको उक्त पार्टीका थुप्रै नेता कार्यकर्ताहरु जेल समेत परे ।

अर्काे क्रान्ति तत्काल गरिहाल्ने भन्दै हिडेका विप्लवले पार्टी विभाजनको खासै औचित्य पुष्टि गर्न सकेनन् । केही जनजिविका सवाल बाहेक गतिलो राजनीतिक छाप छोड्न समेत सकेनन् । ७४ को स्थानीय निर्वाचन खारेजी संगै सकार विप्लव नेकपा प्रति आक्रामक बन्दै गइरह्यो र अन्तत केपी ओली नेतृत्वको सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगायो । विप्लवदेखि स्थानीय स्तरका नेता कार्यकर्ताहरु अर्धभूमिगत हुँदै गए । विप्लवले राज्यको प्रतिरोध गर्ने भन्दै त्यसको विरुद्धमा उत्रिन नेता कार्यकर्तालाई निर्देशन समेत गरे । आफू पनि भूमिगत भए । भूमिगत रुपमै आफ्ना गतिविधिहरु संचालन गरे । प्रतिवन्धका बिचमा ११ जनाको ज्यान समेत गयो ।

राज्य दमनमा उत्रिरहे त्यसको प्रतिरोध गर्दै जाने अभिव्यक्ति दिदै आएका विप्लव अकस्मात् आफैंलाई प्रतिवन्ध लगाएको सरकार संग तीन बुँदे सहमति गर्दै आफ्ना सम्पूर्ण गतिविधिहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने जनतामा जान तयार भएर खुला राजनीतिमा आए ।

विप्लवको हतारहतारको यस निर्णयलाई नेपाली राजनीतिक वृतमा आश्चर्यका रुपमा हेरियो । तीनबुँदे सहमति भएसंगै विप्लव प्रतिवन्धमा गिरफ्तारमा परेका आफ्ना नेता कार्यकर्ताको रिहाईका लागि सरकारमा रहेका र अन्य विभिन्न राजनीतिक दल र दलका प्रमुखहरु संग भेटघाट छलफलमा सक्रिय रहे । योसँगै स्थानीय निर्वाचन २०७९ लाई विप्लव नेकपाले कार्यनीतक नीति भन्दै निर्वाचनको उपयोग गर्ने निर्णय गर्‍यो । यो नीति विप्लवले आफ्ना नेता कार्यकर्तालाई छुट्टाउने अस्त्रका रुपमा लिएको विश्लेषण गरियो र बहसको विषय पनि बन्यो । हठात् रुपमा निर्वाचनको उपयोग गर्ने निर्णय गरेर स्थानीय निर्वाचनमा गएको विप्लवको नेतृत्वको नेकपाले अनपेक्षित हार व्योहोरेपछि विप्लव थप आत्तिएको बुझिन्छ । यहीँ निर्वाचनको विषयलाई लिएर पार्टी विभाजन समेत भयो । पार्टीका स्थायी समिति सदस्यद्वय धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली सुर्दशनले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरे । यसरी विभिन्न राजनीतिक आरोह अवरोह पार गर्दै झेल्दै आइरहेका विप्लवले यो कुरा बुझेको हुनुपर्छ कि एक्लो संघर्षबाट अब पार लागिदैन, उनको पछिल्लो समय प्रचण्ड संगको निकटता र सम्बन्धलाई लिएर अनुमान गर्न सकिन्छ । प्रचण्डका विरुद्धमा पार्टी र आन्दोलन निर्माण गर्न हिडेका विप्लव अन्तत: प्रचण्डको नजिक बन्न हतारिएका छन् । महापतन नामक पुस्तकमा प्रचण्डको पतनलाई १० बुँदामा व्याख्या गरेरका विप्लव प्रचण्ड संग नजिक हुन् हतारो गरेको उनको पछिल्लो अभिव्यक्ति र गतिविधिले प्रस्ट पारेको छ । यसका लागि उनले समाजवादी मोर्चाको बाटो अपनाएको देखिन्छ । प्रचण्डबाट अब कुनै परिवर्तन र क्रान्ति संभव छैन भनेर धारेहात लगाउँदै हिडेका विप्लव अहिले प्रचण्डका विषयमा त्यति बोल्न जागर गर्दैनन् बोलिहाले हिजो प्रचण्डका विषयमा जसरी गर्जिन्थे त्यसो गर्दैनन् प्रचण्डका राम्रै कुरा गर्छन् । अब फुटेर होइन जुटेर समाजवादका लागि लड्नुपर्छ भन्ने अवस्थामा पुगेका छन् । विप्लवका पछिल्ला अभिव्यक्ति, अन्तरवार्ता वा धाराणहरुमा त्यति दम देखिदैनन् भेटिदैन हिजो जस्तो थियो उस्तो, निरिह देखिन्छन् चर्काे बोल्दैनन् ।

संसदीय व्यस्थाबाट संभव छैन । वैज्ञानिक समाजवादले मात्र सबै कुराको हल गर्छ भन्दै संघर्ष गरिरहेका विप्लव रातारात संसदवादी दलहरु संगको गठजोडमा समाजवादी माेर्चामा पुगेपछि नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ । विभिन्न काेणबाट बहस तर्क र विश्लेषणहरु व्यापक रुपमा भइरहेका छन् । विप्लवको यो यात्राले उनले पनि अब संसदवादकाे बाटो तय गर्न खोजेको प्रस्टै बुझिन्छ ।

राजनीतिक शक्ति र संघर्षका हिसाबले दुबैले कमजोर भएको महसुस भएर यसरी एक आपसमा विप्लव र प्रचण्डको हिमचिम बढेको पनि हुनसक्छ । विप्लवले माओवादी एकताको कुरा आफैले खुलेरै उठाउदै आइरहेका छन् । उता प्रचण्ड पनि विप्लवको राम्रै प्रशंसा गरिरहेका छन् । यी दुई पात्रको पछिल्लो सम्पर्क सम्बन्ध र निकटताले कतैन कतै स्वार्थ जोडिएको कुरा पनि नर्कान सकिदैन । विप्लवको र प्रचण्डको सम्बन्धमा सुमधुरता थपिदै जाँदा उता वर्षमान र जनार्दनहरु पक्कै खुसी छैनन् किनकी विप्लव आउनु उनीहरुको राजनीतिका लागि दुखद् विषय हो । विगतको महाअधिवेशनमा महासचिव पदका लागि दाबी गरेका अनन्त र प्रभाकरको एकआपसमा त्यति राम्रो सम्बन्ध नभएको बताइन्छ । प्रभाकर समाजवादी मोर्चामार्फत विप्लवको पार्टीमा ईन्ट्री हुने भएपछि स्वभाविक रुपमा झस्किएका छन् । दुई नेता आपसमा भेटघाट छलफल पनि गरिहेका कुराहरु उनी निकट नेता कार्यकर्ताहरुले बताउने गर्छन् ।

अनन्त, प्रभाकरहरु पार्टी एकतालाई अस्वीकार गर्न नसकेपनि विप्लवलाई आफूहरुभन्दा सिनियर बनाएर भित्र्याउने कुरा उनीहरुले स्वीकार गर्न सकिरहेका छैनन् । संकटको बेलामा पार्टी विभाजन गर्नेलाई सिधै पार्टीमा माथिल्लो दर्जा दिइहाल्न नहुने पनि तर्क गरिहेका छन् । प्रचण्ड विप्लवलाई लिएर माओवादी विरासत फर्काउन सकिन्छकी भन्नेमा छन् भने विप्लव माओवादी भित्र थप शक्ति आर्जन गर्ने दाउमा रहेको देखिन्छ । यी सबै घटनाक्रमलाई केलाउदा सारमा विप्लव हिजो अनाहकमा बटारिएर आज फेरी नजिकिन हतारिएको कुरा पुष्टि हुन्छ ।

 

प्रतिकृया दिनुहोस्