News Portal

शिरीष देवकोटाको मौलिक तीज गीत “लौरी च च” सार्वजनिक

फरकपोस्ट संवाददातासाउन २६ काठमाडौं
८३८ पटक
साउन २६ काठमाडौं

लोकप्रिय लोक तथा दोहोरी गायक शिरीष देवकोटाको नयाँ तीज गीत सार्वजनिक भएको छ । सोमबार साँझ आफ्नै युट्युब च्यानलमार्फत उनले “लौरी च च” बोलको गीत सार्वजजिक गरेका हुन् ।

देवकोटाका आमा टुल्कादेवीको शब्द तथा लय संकलन रहेको यस गीतमा गायक देवकोटा र चर्चित गायिका शान्ति श्री परियारको आवाज रहेको छ ।

पाल्पा जिल्लामा प्रचलित भाकालाई गीतको रूपमा उतारेको शिरिषले बताएका छन् । “मेरो मामाघर पाल्पाको याम्घा दर्पुक भन्ने ठाउँमा हो । वि.सं. २०३०/४० सालतिर मामाघरकी हजुरआमाले (स्व. उमादेवी न्यौपाने) तीजको दिन लौरी च च भाका गाउनुहुँदो रहेछ । पछि आमाले त्यो भाका मलाई सुनाउनुभयो । फलस्वरूप आमाकै शब्दमा यो गीत तयार गर्न पाएँ”, गायक देवकोटाले बताए ।

हाल सो भाका गाउने जमात एकदमै न्यून रहेको र भाका नै गाउन छाडिएको उनले सुनाए । “कतिपयले लौरी च च भनेको के हो भनेर सोध्नुभएको छ । त्यसबारेमा स्पष्ट उत्तर मसँग पनि छैन । यो भाका गाउने धेरैजसो अहिले हुनुहुन्न । भाकाको उत्पत्ति र इतिहासका बारेमा पूर्ण जानकारी लिन सकेको छैन । लोपोन्मुख भाकाको संरक्षणका लागि अनुसन्धान गर्नेछु”, उनले भने ।

भाकाको असली सर्जकप्रति आफू कृतज्ञ रहेको समेत उनले कायाकैरनसँगको कुराकानीमा बताए । “यो भाका जसले जन्माउनुभयो, उहाँप्रति एकदमै आभार छु । आफ्नी आमाप्रति पनि सम्मानको रूपमा यो गीत गाउन पाएको छु । श्रोता तथा दर्शकहरूले रुचाउनुहुनेछ भन्ने आशा राखेको छु”, उनले सुनाए ।

करिब ११ मिनेट लामो गीति भिडियोमा केवल छ जना कलाकारले नृत्य प्रस्तुत गरेका छन् । कोरोना भाइरस महामारीको संक्रमण फैलन सक्ने जोखिम रहेकै कारण भिडियो निर्माणमा थोरै जनशक्ति प्रयोग गरिएको गायक देवकोटाले बताए । भिडियोमा निर्देशन स्मृति तिमिल्सिनाले गरेकी हुन् भने सम्पादन प्रकाश धमलाले गरेका हुन् ।

गीत हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

प्रतिकृया दिनुहोस्