
बरिस्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको बुधबार बिहान निधन भएको छ ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो।
पाँच दशक अघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको निधन भएको हाँस्य कलाकार शिवहरि पौडेलले जानकारी दिएका छन ।
मंगलबार राति बौद्धबाट घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए । आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी गराए ।
पाण्डेका अनुसार घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने पनि बिहानमात्र उठेर हेरेका रहेछन् ।
घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुनेका थिए। तर राति उठेर हेरेका रहेनछन् । उहाँ लडेको बिहानमात्रै थाहा भएको हो । एउटा खुट्टा कारमा थियो। जिउँ भुइँमा लडिरहेको थियो । अल्झिए जस्तो देखिन्छ। टाउकोमा चोट लागेको देखिन्छ,’ प्रनाउ पाण्डेले भने।
लामाका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।
एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए।
पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए।