
घोराहीमा जारी तेश्रो संस्करणको उपमेयर छात्रा भलिबल प्रतियोगिता २०७९ मा सेमिफाइनलमा प्रतिष्पर्धा गर्ने चार टीमको टुंगो लागेको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा सहिद मन्चमा माघ ६ गतेबाट जारी प्रतियोगितामा पद्मोदय पब्लिक नमुना मावि भरतपुर, गोरक्ष रत्ननाथ मावि चौघेरा, बालविकास मावि नयाँ बजार र जयशेर मावि रावतगाउँ सेमिफाइनलमा प्रवेश गरेका छन् । आज सोमबार भएको क्वाटर फाईनल खेलमा बालविकास माविले ज्ञानसिन्धु माविलाई २–१ को सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
निकै प्रतिष्पर्धात्मक खेलमा बालविकास माविले २५–२२, १५–२५ र २५–२१ को सेटमा हरायो । यसैगरी, गोरक्ष रत्ननाथ मावि चौघेरा र हापुर मावि निघुवारबीचको खेलमा हापुर मावि निघुवारले खेलमा क्वाटर फाईनलमा सहभागी नभए पछि वाकओभरका आधारमा गोरक्ष रत्ननाथ मावि सेमिफाइनलमा प्रवेश गरेको हो भने जयशेर मावि रावतगाउँ र गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलले सोझो सेटमा हराएको छ । जयशेर माविले २५–१७, २५–१२ को सेटमा हराउँदै सेमिफाइनलमा पुगेको छ ।
यसअघि आईतबार भएको पहिलो क्वाटरफाइनलमा पद्मोदय माविले महेन्द्र मावि धर्नालाई २–० को सोझो सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरिसकेको थियो । अब फाइनल प्रवेशकन लागि मंगलबार पहिलो सेमिफाइनलमा पद्मोदय पब्लिक नमुना मावि भरतपुर र गोरक्ष रत्ननाथ मावि चौघेरा बीच खेल हुनेछ भने दोश्रो सेमिफाइनलमा बालविकास मावि नयाँ बजार र जयशेर मावि रावतगाउँबीच खेल हुने भएको प्रतियोगिता आयोजक समिति संयोजक एवम् नगरप्रवक्ता राममणि पाण्डेले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाईनल खेल माघ ११ गते हुनेछ । प्रतियोगितामा १६ वटा विद्यालयका छात्राले भाग लिएका थिए । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजारका साथै शील्ड मेडल पाउनेछ । उक्त पुरस्कार नगर स्थापना दिवसको अवसरमा माघ १५ गते एक समारोहबीच हस्तान्तरण गरिने घोराही उपमहानगरपालिकाको भनाई छ । उपमेयर छात्रा भलिबलमा पद्मोदय माविले लगातार दुई पटक उपाधि जितेको छ ।।