News Portal

आज चुप नबस्नुहोस बा

फरकपोस्ट संवाददाताकविता
५२९ पटक
कविता

 

मेरो सात बर्षको कोपिलाले
ममाथि प्रश्न- प्रश्न माथी प्रतिप्रश्न गर्छ
र मसँग पटकपटक गर्छ
उत्तरको अपिल
बा,
शासन भनेको के हो ?
सत्ता भनेको के हो ?
सरकार भनेको के हो ?
उ कहाँ बस्छ ? कस्तो हुन्छ ?
के गर्छ ?
कसकालागी गर्छ ?
सुकुम्बासीमा डोजर लगाउने को हुन ?
पुर्बी तराई किन डुब्छ ?
पश्चिम् तराई किन बग्छ ?
देशको नक्सा किन साँघुरियो ?
देशमा बारुद कारखाना कतिवटा छन ?
कि छैनन ? किन छैनन ?
अन्यायको विरुद्ध लडन पाइन्छ कि पाइदैन ?

बा मलाई आज कि उत्तर दिनुहोस्
कि दिनुहोस एउटा बन्दुक

बा मलाई मात्र मुट्ठी कस्न सिकाइदिनुस
म आफैं घोक्छु मार्क्सवाद
बा मलाई उभिन सिकाइदिनुस
म आफैँ बनाउछु फर्मेशनहरु
म आफैँ कस्छु मोर्चाहरु

मलाई घिसार्ने अक्षर पढाउने स्कुलमा
म सधैँ पछाडी परेपनी
म मोर्चाहरुमा सबैभन्दा अगाडि हुनेछु बा !

सामन्तीहरुको जिबनी घोकेर
मलाई रटनुछैन काला कानुनका उपधाराहरु
मलाई फिडेल क्यास्ट्रोको किताब दिनुस्
साँस्कृतिक क्रान्तिमा माओले बोलेको अडियो सुनाउनुहोस
म इन्जिनियर होइन योद्धा बन्छु बा !

तपाईंको हृदयभित्र युगौँदेखी दन्किरहेको
त्यो आगोको मुस्लो निभाउन
म डाक्टर होइन आँधी बनेर आउनुपर्नेछ बा !
मलाई आँधी हुनदिनुस
मलाई आँधिहुने मन छ बा

तपाईंको मगजभित्र युगौँदेखी दौडिरहेको
परिवर्तनको अभिलाषालाई गन्तव्य दिन
म मालिक होइन श्रमिक बन्नुपर्नेछ बा
मलाई बिचारको गैंती दिनुहोस !
मलाई मुक्तिको गोरेटो खन्नुछ
मलाई खन्ने मनछ
हो मलाई खन्न दिनुहोस बा

तपाईं अनुमति दिनुहोस बा
धर्ती हल्लाउन
म आफैं रच्छु एउटा डरलाग्दो कबिता
तपाईं संसार थर्काउने आँट दिनुहोस
म आफैँ गाइदिन्छु एउटा अजम्बरी गित
हो बा तपाईं रोपिदिनुहोस एउटा भरोसाको बीउ
म आफैं उमारिदिन्छु
एउटा प्रतिबद्धताको अमर गुन्जन

साँच्चै बा आज चुप नबस्नुहोस
आज नटार्नुहोस
आज नभाग्नुहोस
मलाई कि उत्तर दिनुहोस बा
कि दिनुहोस् एउटा बन्दुक !

तपाईं आफैं भन्नुहोस कोपिलालाई
कसरी दिउँ बन्दुक
कसरि दिउँ जबाफ ?

बि पि बिद्रोही २०७८/०४/०५

प्रतिकृया दिनुहोस्